आमा बितेपछि अर्कीसँग बुवा भागे, खोज्दै ४ बालबालिका भारतबाट जुम्ला आए

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ८ : ५८


जुम्ला । उपचारका क्रममा आमाको निधन भएपछि बुवाले अर्की आमा लिएर भागेको र उनको खोजीमा आएको भन्दै भारतबाट चार बालबालिका जुम्ला पुगेका छन् ।

बुवाले आफुलाई छोडेर भागेपछि भारतबाट यहाँ पुगेको उनीहरुले बताएका छन् । भारतको पञ्जाबमा नोकरी गर्दै आएका बेपत्ता बाबुको खोजी गर्दै चार जना बालबालिका जुम्ला पुगेका हुन् ।

तीन वर्षदेखि बेपत्ता बाबु सन्तोष बिकको खोजी गर्दै कैलाली स्थायी ठेगाना बताउने १७ वर्षीया मधु विक, १६ वर्षीया गीता विक, नौ वर्षीय नवीन विक र तीन वर्षीय आशिष विक जुम्ला सदरमुकाम खलङ्गा पुगेका प्रहरीले जनाएको छ ।

उनीहरूले आफूहरू चारै जना भारतको पञ्जाबमा जन्मिएको बताएका छन् । जुम्लाको बसपार्कमा बेबारिसे अवस्थामा रहेका उनीहरूलाई स्थानीयको सहयोगमा स्थानीय प्रशासन र प्रहरीले अहिले अस्थायी रुपमा जुम्लाको अल्पकालीन आश्रयका लागि सेवा केन्द्रमा राखिएका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार प्रहरी अहिले उनीहरूको ठेगाना पहिचानमा लागि परेको छ । प्रहरीले जुम्लाबाट विभिन्न जिल्लामा उनीहरूको हुलिया सहित पठाएर बालबालिका हराएको भए सम्पर्कमा आउन भन्दै सञ्चार गरेको उनले जानकारी दिए ।

‘नेपालमा घर कैलाली जिल्लामा छ भन्ने सुनेको बताउँदै उनीहरुले ठाउँबारे जानकार नभएको बताएको अल्पकालीन आश्रयमा राखिएका सेवा केन्द्रका अध्यक्ष भगवती श्रेष्ठले जानकारी दिइन्।

जुम्ला आएकी १० वर्षीय मधुले भनिन्, ‘सानो भाइ एक महिना हुँदै आमा सपना विकको उपचारका क्रममा अस्पतालमै निधन भएको र बुवाले अर्की आमा लिएर भाग्नु भयो ।

उनका अनुसार बाबुले अर्कै बिहे गरेपछि चारै भाइबहिनी पञ्जाबमा विचल्लीमा थिए । त्यसमध्ये सबैभन्दा सानो भाई आशिष अहिले तीन वर्ष पुगेको छ । भारतमा कोरोना फैलिएपछिमजदुरी गर्ने ठाउँ नभएपछि नेपाल आएको उनीहरू बताउँछन् ।

‘सबै नेपाली नेपाल फर्कन थालेपछि हामी पनि नेपाल आयौ,’ नेपालगञ्ज, सुर्खेत हुँदै जुम्ला आएका बालबालिकाहरूले जनाएका छन् ।

बाबु खोज्दै जुम्ला पुगेको पनि उनीहरू १२ दिन भएको छ ।


प्रतिक्रिया दिनुहोस्