महिलालाई आत्मनिर्भर बन्न सिकाउने ‘नेता’, जो ‘राजनीति’ गर्दिनन्

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


काभ्रे । अरनिको राजमार्ग छाडेर काभ्रेको खोपासीका लागि हिँड्दा पूण्यमाता नदी तरेपछि ठाउँ ठाउँमा सेतो प्लास्टिकले बनेका टनेलहरु देखिन्छन् ।

सडकबाटै हेर्दा पनि थाहा हुन्छ कि ती टनेलहरु तरकारी खेतीका लागि बनाइएका हुन् । टनेलहरु सामान्य नै देखिन्छन् । तर ती टनेलभित्र फल्ने तरकारीसँग जोडिएको श्रमको कथा भने ‘विशेष’ छ ।

विशेष यस अर्थमा कि, त्यहाँका धेरै टनेलमा महिला मात्रको ऊर्जा र श्रमले तरकारी फलिरहेको छ ।

धान खेतका बीचमा तरकारी खेती (टनेल)

सामान्य रुपमा सोच्दा लाग्न सक्छ, महिलाले तरकारी फलाउनु कसरी ‘विशेष’ हुन्छ ? तर, व्यवसायीक रुपमा गरिने तरकारी खेती महिला मात्रैको बुतामा सम्भव हुन अझै पनि गाह्रो छ नेपाली परिवेशमा ।

खेती गरेपछि बिक्री त भइहाल्छ नि ! भनेर ‘हिम्मत जुटाउन’ सकियो भने असम्भव पनि छैन । त्यसैले त काभ्रेको खोपासी क्षेत्रका ४ सय भन्दा बढी महिला तरकारी खेतीदेखि वन पैदावारका उत्पादन बनाएर बिक्री गर्न ‘सफल’ भइरहेका छन् ।

खोपासी क्षेत्रका ४ सय ७० जना महिला अहिले तरकारी खेतीदेखि बाँसका मुढा बनाइ बिक्री गरेर परिवारको खर्च धान्न सक्ने अवस्थामा पुगेका छन् ।

व्यक्तिगत खर्चका लागि समेत श्रीमान् वा परिवारका सदस्यसँग पैसा माग्नुपर्ने बाध्यता छैन । बरु, परिवारका सदस्यलाई खर्च दिन सक्ने ‘आर्थिक हैसियत’ बनेको छ उनीहरुको ।

४ सय ७० जना महिला २० देखि २२ जनाको समूहमा बाँडिएका छन् । कसैले आलु फलाउँछन्, कोही टमाटर (गोलभेँडा) हुर्काउँछन् भने कोही तितेकरेला उत्पादन गर्छन् । तरकारीका परिकारैपिच्छे महिलाका अलग–अलग समूह छन् ।

तरकारी मात्र हैन, वन पैदावारका सामग्रीसँग जोडिएका समूह पनि छन् । बाँसका मुढा बनाउने, मौरी खेती (मह उत्पादन) गर्ने, जंगलमा दाँते ओखर रोप्ने, अम्रिसो खेती गर्ने जस्ता अलग–अलग समूह छन् महिलाका ।

तरकारी खेती

तरकारीदेखि वन पैदावारका सामग्री बिक्री गर्ने गरी करिब २० वटा समूहलाई जोड्ने काम गरेकी छन्, शान्ता न्यौपानेले ।

२०५७ सालमा सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)मार्फत वन संरक्षणमा सक्रिय भएकी शान्ता अहिले स्थानीय महिलाका लागि ऊर्जाशील उत्प्रेरक बनेकी छन् ।

२०७२ सालमा ‘आधार एकता नेपाल’ नामक संस्था दर्ता गरेर गाउँ केन्द्रित सामाजिक काम थालेकी शान्ता अहिले खोपासी क्षेत्रका महिलालाई जोड्ने ‘पुल’ पनि बनेकी छन् ।

‘महिलामा पनि केही गर्ने आत्मविश्वास हुन्छ, जाँगर हुन्छ,’ शान्ता भन्छिन्, ‘त्यो आत्मविश्वास र जाँगरलाई क्षमतामा रुपान्तरण गर्न सक्नुपर्छ, सफलता प्राप्त गर्न कसैले रोक्न सक्दैन ।’

समूहमा रहेर तरकारी खेती गर्ने महिलाले सिजनमा ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको शान्ता बताउँछिन् ।

‘तरकारी खेतीबाट मात्रै एक जना महिलाले सिजनमा ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी गर्नुहुन्छ,’ शान्ता भन्छिन्, ‘आम्दानीभन्दा अर्को ठूलो कुरा उहाँहरुको सक्रियताले समाजमा पारेको सकारात्मक प्रभाव पनि हो । अहिले यहाँका यहाँका हरेक महिला गफ गरेर दिन बिताउनुहुन्न भन्ने मानसिकतामा पुग्नुभएको छ । जस्तो भएपनि काम गर्नुपर्छ भन्ने मानसिकता विकास हुनुपनि ठूलै उपलब्धि हो ।’

कोरोना भनेर कहिलेसम्म बस्ने ?

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै सरकारले गत चैतमा लकडाउन घोषणा गर्‍यो । लकडाउनका कारण खोपासी क्षेत्रका महिलाको तरकारी खेतीमा पनि प्रभावित बन्यो ।

शान्ता न्यौपाने

उत्पादित तरकारी बारीमै रहेन स्थिति आएपछि तरकारी खेतीमै आश्रित महिलाहरु बेचैनी बढ्यो । तर, शान्ताले उनीहरुलाई सक्रिय पार्न अर्को उपायको खोजी गरिन् ।

लकडाउनका बेला महिलालाई बाँसको मुढा बनाउनेदेखि अम्रिसोका कुचो बनाएर बिक्री गर्ने सीप सिक्नतर्फ प्रेरित गरिन् ।

‘सीप भयो भने आफूले चाहेको काम गर्न सकिन्छ । एउटा मात्रै काम गर्नुपर्छ भन्ने बाध्यता पनि हुँदैन,’ शान्ता भन्छिन्, ‘अहिले तरकारी खेती गरिरहनुभएको कोही दिदिबहिनी पछि धेरै शारीरिक श्रम गर्न नसक्ने अवस्थामा पुग्नुभयो भने पनि सिकेको सीपले आम्दानी गर्न सक्नुहुन्छ । त्यो भनेको आफूले चाहेको काम गर्न सक्ने स्वतन्त्रता पनि हो ।’

अहिले मुढा बनाउने महिलाको छुट्टै समूह नै सक्रिय छ । लकडाउन खुकुलो भएसँगै तरकारी खेती पनि पुनः पुरानै लयमा फर्किँदै छ भने तरकारी मात्रैमा आश्रित हुनुपर्ने महिलाले अर्को सीप पनि सिकेका छन् ।

‘हुन त लगभग सबै सिजनमा तरकारी खेती हुन्छ । तर, त्यसबाट पनि केही समय मिल्छ भने त्यसको सदुपयोगका लागि दिदीबहिनीहरुले नयाँ सीप पनि सिक्नुभएको छ,’ शन्ता भन्छिन्, ‘अब खाली समयमा मुढा बनाउने, अम्रिसोको कुचो बनाउने लगायत काम गरेर थप आम्दानी पनि गर्न सकिन्छ । हामीले थप सीपमूलक तालिमहरु पनि सञ्चालन गर्दै छौं ।’

शान्ताका अनुसार केही महिलाले मह प्रशोधनको समेत तालिम लिएका छन् । मह उत्पादन गर्ने समूहका महिलाले अहिले पनि गुणस्तरीय मह उत्पादन गरेर बिक्री गर्दै आएका छन् । यस्तै, केही महिलालाई अचार बनाउने तालिम पनि प्रदान गरिएको उनी बताउँछिन् ।

शिक्षिकालाई अनलाईन क्लास चलाउने तालिम

कोरोना महामारीका बेला विद्यालयहरु बन्द छन् । सरकारी, सामूदायिक र निजी क्षेत्रबाट सञ्चालित सबै विद्यालयका शिक्षक शिक्षिकाहरु फुर्सदिला जस्तै छन् । पुरुष शिक्षकहरु अनलाईन कक्षामार्फत विद्यार्थीसँग जोडिने गरेपनि महिला शिक्षक (शिक्षिका)हरु भने प्राविधिक रुपमा जानकार नभएका कारण केही अप्ठ्यारो पर्‍यो ।

शान्ताले आफ्नो समूहका सदस्यहरुसँग छलफल गरेर प्राविधिक रुपमा कमजोर भएका शिक्षिकाहरुका लागि कम्प्युटर र अनलाईन कक्षासम्बन्धी तालिम सञ्चालन गर्ने सोचमा पुगे ।

शान्तासहित उनको समूहले अहिले महिला शिक्षकका लागि कम्प्युटर र अनलाईन कक्षा सञ्चालन सम्बन्धी तालिम दिइरहेको छ ।

कम्प्युटर र अनलाईन कक्षा सञ्चालन सम्बन्धी तालिममा महिला शिक्षकहरुको सक्रिय सभागीता रहेको शान्ता बताउँछिन् ।

‘अहिलेको अवस्थामा केन्द्र सरकारले नै वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने भन्दै आएको छ । खोपासीजस्तो अर्धशहरी क्षेत्रमा अनलाईनमार्फत पठनपाठनको साम्रो सम्भावना पनि छ । त्यसैले हामीले प्रविधिमा कमजोर रहेका महिला शिक्षकहरुलाई कम्प्युटर र अनलाईन कक्षा सञ्चालन सम्बन्धी तालिम शुरु गर्ने सोच बनायौं,’ शान्ता भन्छिन्, ‘अहिले धेरै जनाको यो तालिमप्रति अभिरुची देखिएको छ । सक्रिय सहभागीता पनि छ ।’

महिलालाई आत्मनिर्भर बनाएर उनीहरुको आर्थिक हैसियत उकास्ने अभियानमा लागेकी शान्तालाई उनको क्षेत्रका महिलाले आफ्नो नेता मान्छन् । तर, उनी दलगत आस्थामा आधारित राजनीति गर्दिनन् ।

‘महिलाले परिवारसँग बाहिरी कामलाई पनि राम्ररी सम्हाल्न सक्छन् भन्ने सन्देशमा पुर्‍याउनु नै अहिलेका लागि महत्वपूर्ण कुरा हो,’ शान्ता भन्छिन्, ‘महिला आफैंले पनि म कमजोर छैन, कमजोर भएर बस्दिन भन्ने आत्मविश्वास विकास गर्नसक्नुभयो भने हामीले भन्ने गरेको समतामूलक समाज त्यहि दिन बन्ने छ ।’


प्रतिक्रिया दिनुहोस्