चोरी तस्करीमा संलग्न विद्युत प्राधिकरणका २ जना कर्मचारी पक्राउ

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार


काठमाडौं । अवैध तस्करी तथा चोरीमा संलग्न रहेको अवस्थामा कञ्चनपुर प्रहरीले नेपाल विद्युत प्राधिकरणका २ जना कर्मचारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार विद्युत प्राधिकरण कैलाली र कञ्चनपुरमा ज्यालादारीमा कार्यरत कर्मचारी अवैध तस्करी तथा चोरीमा संलग्न रहेको पाइएपछि पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कैलालीमा कार्यरत प्रदिप राना र कञ्चनपुरको बेलौरी वितरण केन्द्रमा कार्यरत धनबहादुर चन्द छन् ।

प्रहरीका अनुसार कञ्चनपुरको बेलौरी वितरण केन्द्रका कर्मचारी धनबबहादुर चन्द विद्युतका सामग्री चोरी पैठारी गरी तस्करी गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

चन्दलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलमा विद्युतीय उपकरणहरु तस्करी गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो ।

उनले ती सामग्री भारतीय बजारबाट चोरी पैठारी गरी नेपाल भित्र्याएर तस्करी गर्न लागेका थिए ।

यस्तै, नेपाल विद्युत प्राधिकरण कैलाली वितरण केन्द्रमा कार्यरत प्रवेश राना अवैध काठसहित पक्राउ परेका छन् ।

उनलाई प्रहरीले कञ्चनपुरको लालझाडी गाउँपालिका–४ पर्सियाबाट अवैध काठसहित पक्राउ गरेको हो । नेपाल विद्युत प्राधिकरणमा प्राविधिकका रुपमा कार्यरत राना काठ मिल सञ्चालक समेत रहेका खुलेको छ ।


प्रतिक्रिया दिनुहोस्