राष्ट्रपतिबाट ३ अध्यादेश जारी, उपत्यकाको सुरक्षा जिम्मेवारी केन्द्रीय प्रहरीलाई

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ३ : ३८


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा तीन अध्यादेश आज जारी गरेकी छन।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत ३ अध्यादेश पारित भएको जानकारी दिएका छन।

राष्ट्रपतिले पारित गरेका ३ अध्यादेशमा नेपाल प्रहरी र संघीय प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)को पहिलो संशोधन अध्यादेश पनि छ।

उक्त अध्यादेश प्रमाणीकरण भएसँगै अब काठमाडौं, भक्तपुर र ललितपुरको सुरक्षा जिम्मेवारी केन्द्रीय प्रहरीकै हुने भएको छ।

उक्त अध्यादेशमा काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मेवारी केन्द्रीय प्रहरीकै हुने उल्लेख छ। त्यसका लागि ‘संघीय राजधानी प्रहरी’ गठन हुने ऐनमा व्यवस्था छ।

यसअघि काठमाडौं उपत्यकाका ३ वटै जिल्लाको सुरक्षा जिम्मेवारी केन्द्र कि प्रदेश कसको हुने भन्नेमा ऐनमा स्पष्ट व्यवस्था गरिएको थिएन।

देशको केन्द्रीय राजधानीको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीको हुने गरी सरकारले ऐनलाई संशोधन गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गृह मन्त्रालयले ऐन संसोधन गरेको बताइएको छ।

राजधानीको सुरक्षा संवेदनशीलताका हिसाबले उपत्यकाको सुरक्षा जिम्मेवारी केन्द्रीय प्रहरीलाई दिइएको हो।

नेपाल प्रहरीलाई संघीय संरचनाअन्तर्गत चैतभित्रै समायोजन गरिसक्नुपर्नेमा उपत्यकाका तीन जिल्लाको शान्ती सुरक्षा व्यवस्थाको जिम्मा संघीय सरकारले लिने कि प्रदेश सरकारले गर्ने भन्नेमा विवाद थियो।

बागमती प्रदेश सरकारले संविधानप्रदत्त अधिकार संघीय सरकारले मिच्न खोजेको भन्दै आपत्ति जनाउँदै आएको थियो


प्रतिक्रिया दिनुहोस्