मोदनाथ प्रश्रितले पद्मश्री साधना पुरस्कार नलिने

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


काठमाडौं । साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना पुरस्कार नलिने घोषणा गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै प्रश्रितले पद्मश्री साधना पुरस्कार नलिने घोषणा गरेका हुन् ।

आफूलाई पुरस्कार दिने घोषणा गरेको ‘खेम हरिकला समाज कल्याण परिषद’प्रति आभार व्यक्त गर्दै प्रश्रितले पुरस्कार नलिने बताएका छन् ।

आफूलाई पुरस्कृत गर्न लागेको समाचार आएपछि अप्रमाणित विषय सुनियोजित रुपमा उठाएर चरित्र हत्या गर्ने प्रयास भएको प्रश्रितको भनाइ छ ।

‘खेम हरिकला समाज कल्याण परिषदले मलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्छु’, प्रश्रितले आफ्ना वक्तव्यमा भनेका छन्, ‘यो समाचार प्रकाशित भएपछि अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो चरित्रहत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्दर्भमा मैले यो पुरस्कार नलिने निश्चय गरेको व्यहोरा सूचित गर्दछु ।’

हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले शनिबार २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’लाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेको थियो ।

उक्त विषय सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि ‘योन हिंसा’को आरोप खेपेका व्यक्तिलाई पुरस्कार दिन लागिएको भन्दै सामाजिक सञ्जालमा विरोध शुरु भएको थियो ।

त्यसपछि ‘हंस’का लेखक आख्यानकार सञ्जीव उप्रेतीले प्रश्रितसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन नसकिने भन्दै पुरस्कार अस्वीकार गर्ने घोषणा गरेका थिए ।

२०७२ सालमा प्रकाशित ‘भ्रष्टाचार विरोधी अभियान्ता’ शारदा भुसाल (झा)को ‘धरातल’ नामक आत्मकथामा प्रश्रितमाथि योन शोषणको आरोप लगाइएको छ ।

भुसालले आफ्नो पुस्तकमा प्रश्रितले आफूलाई १३ वर्षको उमेरकी हुँदादेखि योन शोषण गर्ने गरेको आरोप लगाएकी छन् । तर, प्रश्रितले उक्त पुस्कत प्रकाशित भएकै बेला आफूमाथि लगाइएको आरोपको खण्डन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्