ह्यान्ड सेनिटाइजरमा विषाक्त रसायन, १८ ब्राण्डका उत्पादन बिक्री गर्न रोक

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  १२ : ५३


काठमाडौं । गत चैतमा नेपालमा दोस्रो व्यक्तिमा कोरोना देखिएपछि बजारमा सेनिटाइजर, मास्क जस्ता स्वास्थ्य सुरक्षाका सामग्रीको अभाव चुलिएको थियो ।

मानिसहरु सेनिटाइजर किन्नकै लागि पसल तथा मेडिकल अगाडि लाइन लाग्ने अवस्था थियो । तर, वैशाख दोस्रो हप्तादेखि बजारमा विभिन्न (नामै नसुनेका) ब्राण्डका सेनिटाइजर छ्याप्छ्याप्ती पाइन थाले ।

तर, यसरी बजारमा उपलब्ध हुने सेनिटाइजरमध्ये ४५ प्रतिशतजति गुणस्तरहीन हुने गरेको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को विज्ञान संकायअन्तर्गत वातावरण अनुसन्धान प्रयोगशालामा काठमाडौं उपत्यकामा पाइने सेनिटाइजरको प्रभावकारिता परीक्षण गर्दा ४५ प्रतिशत सेनिटाइजर गुणस्तरहीन पाइएको हो ।

यस्ता सेनिटाइजरमा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने हानीकारक रसायन मिसाइने गरिएको पाइएको थियो ।

त्यसपछि औषधि व्यवस्था विभागले पनि बजारमा पाइने सेनिटाइजरको गुणस्तरीयता परीक्षणको प्रक्रिया अगाडि बढायो ।

बजारमा बिक्री भइरहेका ह्यान्ड सेनिटाइजरहरुको नमूना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गरेको थियो । परीक्षणका क्रममा केही ह्यान्ड सेनिटाइजरमा तोकिएको मापदण्ड ‘इन्सट्यान्ट ह्यान्ड सेनिटाइजर (अल्कोहल बेस्ड) सम्बन्धी स्तर २०७६’ विपरित विषाक्त रसायन (मिथानोल) समावेश गरेको पाइएको विभागले जनाएको छ ।

यसरी गुणस्तरीयता परीक्षण गर्दा हालसम्म १८ ब्राण्डका स्यानीटाइजरमा विषाक्त रसायन (मिथानोल) समावेश पाइएको छ । विभागले गरेको परीक्षणका क्रममा नेपाली र भारतीय गरी १८ ब्राण्डका सेनिटाइजरमा विषाक्त रसायन मिसाएको पाइएको हो ।

विषाक्त रसायन मिसाइएको पाइएका सेनिटाइजरमा चीनको ओपाकेल नन वासिङ एन्टिबेक्टिरियल सलुसन, ललितपुरस्थित सम्पदा हेल्थकेयरको सासा ह्यान्ड सेनिटाइजर, भारतको आरएल कोर्पको पामाकेयर ह्यान्ड सेनिटाइजर, काठमाडौंको श्रीनाथ हर्बलको युनिकेयर ह्यान्ड सेनिटाइजर र भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सट्यान्ट ह्यान्ड सेनिटाइजर छन् ।

यस्तै, काठमाडौंको हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सट्यान्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’, काठमाडौंकै आधार केमिकल्स एण्ड फूड इन्डस्ट्रीले उत्पादन गर्ने ‘एड्भान्स ह्यान्ड सेनिटाइजर’, सर्च केम कम हर्बल प्रोडक्ट काठमाडौंले उत्पादन गर्ने ‘इन्सट्यान्ट ह्यान्ड सेनिटाइजर रिफ्रेरिसङ जेल’ र सूर्यमुखी हर्बल प्रोडक्टको ‘सूर्यमुखी ह्यान्ड सेनिटाइजर’ मा विषाक्त मिथानोल रहेको पाइएको छ ।

भारत उत्तराखण्डको सिभिका कस्मेस्युटिकल्स कम्पनीको हर्बल ट्री ह्यान्ड स्यान्टिाइजर, पर्साको आर केमिकल इन्डस्ट्रीको क्लिन ह्यान्ड सेनिटाइजर र बनेपाको कुमकुम हर्बल इन्डस्ट्रीको कुमकुम ह्यान्ड सेनिटाइजर मा पनि विषाक्त रसायन मिसिएको पाइएको विभागले जनाएको छ ।

विभागका अनुसार ओम आरोग्य हेल्थकेयर प्रालिको ‘इन्स्ट्यान्ट ह्यान्ड सेनिटाइजर’, काठमाडौंको साधना सप्लायर्सको ‘साधना इन्सट्यान्ट ह्यान्ड सेनिटाइजर’ र काठमाडौंको कालिका सोप एन्ड केमिकल्स प्रालिको ‘ड्रोन ह्यान्ड सेनिटाइजर’मा पनि विषाक्त रसायन मिसाइएको पाइएको छ ।

विभागले विषाक्त रसायन मिसाएको पाइएका सबै सेनिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ ।

तर, यसअघि नै बजारमा गएका सेनिटाइजरहरु बिक्री हुन सक्ने भएकाले उपभोक्ताहरुले पुष्टि गरेर मात्रै प्रयोग गर्नुपर्ने विभागका अधिकारीहरु बताउँछन् ।

ह्यान्ड सेनिटाइजरमा प्रयोग हुने गरेको विषाक्त रसायन मिथानोलले छालालाई कमजोर बनाउने गरेको चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार मिथानोलको प्रयोगबाट छालाको क्यान्सर हुने जोखिम समेत हुन्छ ।

यस्तै, मिथानोलले छाला सुन्निने, फोका उठ्ने समस्या पनि उत्पन्न हुन्छ । यसले स्वासप्रश्वासमा समस्या उत्पन्न गराउनुका टाउको दुख्ने जस्ता स्वास्थ्य समस्या उत्पन्न गराउँछ ।


प्रतिक्रिया दिनुहोस्