अब नेपालीले भारतको अनुमति लिन नपर्ने, छाङरु जाने बाटो बन्यो

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ८ : १२


काठमाडौं । नेपाली सेनाले व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङरु जोड्ने कडा चट्टानी भीरमा घोडेटो बाटोको ट्र्याक खुलाएको छ ।

गत जेठ ९ गतेबाट काम सुरु गरेको सेनाले सम्झौताअनुसार ५५० मिटर बाटोको ट्र्याक खुलाउने काम सकेको हो ।

कडा चट्टानी भूगोल, भारतीय अवरोध, प्रतिकूल मौसम र निर्माण सामग्री ढुवानीमा ढिलाइ हुँदा दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरेको बाटो निर्माणको काम चार महिनामा सकिएको हो। यो खबर गोरखापत्रमा लोकन्द्र जोशीले दार्चुलाबाट लेखेका हुन् ।

चट्टानी भीर फुटाएर खुलाइएको ट्र्याकमा सफाइको कामसमेत सकिएको नेपाली सेना दुर्गादल गुल्म दार्चुलाका गुल्मपति विक्रमदेव थापाले जानकारी दिए ।

यो बाटो खुलेसँगै व्यासवासीलाई नेपालकै बाटो भएर गाउँसम्म आवतजावत गर्न सहज भएको छ। व्यासको छाङरु र तिङ्कर गाउँमा बसोबास गरेका झन्डै दुई सय परिवारलाई दार्चुला सदरमुकाम कुन्चा सर्न सहज हुने सेनाले जनाएको छ ।

व्यासको छाङ्रु र तिङ्कर गाउँमा बसोबास गरेका झन्डै दुई सय परिवारलाई दार्चुला सदरमुकाम कुन्चा सर्न सहज हुने सेनाले जनाएको छ ।

व्यासी हरेक वर्ष ६ महिना व्यास र ६ महिना सदरमुकाम खलङ्गा बस्ने गर्छन् ।

खलङ्गाको गर्मी छल्न गाउँ उक्लिएका व्यासी चिसो बढेपछि पुनः मङ्सिर पहिलो साता खलङ्गा झर्ने गर्छन् ।

विगतमा नेपालतर्फ बाटो नहुँदा व्यासी भारतीय बाटो प्रयोग गरेर गाउँ जाने गरेका थिए ।

यो वर्ष सीमा विवाद, लकडाउन र सीमा नाका बन्द भएकाले व्यासीलाई गाउँ फर्किन समस्या थियो। घोरेटो बाटो निर्माण भएसँगै व्यास पुग्न नेपाल र भारत दुवैतर्फको प्रशासनको अनुमति लिनुपर्ने बाध्यता अन्त्य हुने व्यास गाउँपालिका–१ का स्थानीयवासी नगेन्द्र तिङ्करीले जानकारी दिए ।

चट्टानी भूगोलले काममा केही ढिलाइ भए पनि स्थानीयवासीका लागि सहज रूपमा आवतजावत गर्न मिल्ने गरी बाटो निर्माण भएको तिङ्करीले बताए।


प्रतिक्रिया दिनुहोस्