काठमाडौं । बैतडीमा एउटा दुःखद घटना घटेको छ। रोजगारीका लागि भारत पुगेका एक व्यक्तिको फर्किँदा बीचबाटोमै दुःखद निधन भएको छ।
विछिप्त तस्विरमा देख्न सकिन्छ उनी उत्तानो परेर ढलेका छन्, भारतबाट परिवार र प्रियजनका लागि उनले बोकेर ल्याएका कोशेलीहरु छरपष्ट छन्।
स्थानीय सञ्चार माध्यमका अनुसार उनी थिए, बैतडीको पुचौंडी नगरपालिका–३ तोलिगाउँका ३५ बर्षीय पदमबहादुर बोहरा।
बोहरा झण्डै १५–१६ बर्षदेखि भारतको बेङलोरमा मजदुरी गर्दै आएका थिए।
कोरोना भाइरस महामारीका कारण यसअघि लकडाउन हुँदा समेत भारतमै दुःख कष्ट सहेर मजदुरी गर्दै आएका बोहरा शुक्रबार भने आफ्नो जन्मभूमी फर्केका थिए।
तर, घर पुग्न नपाईं बीच बाटोमै ढले। उक्त डाँडाबाट उनको घर पुग्न झण्डै ४५ मिनेट जति लाग्ने बताइएको छ।
सुदुरपश्चिमका धेरै ठाँउमा अहिलेपनि सडक यातायातको सुविधा छैन। मानिसहरु घण्टौं पैदल हिँडेर घर फर्कने गरेका छन्।
शुक्रवार बोहरा घर फर्किदैं थिए। महेन्द्रनगरपोष्टका अनुसार पुचौंडी स्थित बशन्तपुर बजारमा पुगेपछि उनलाई भोक लाग्यो।
पसलमा चाउँमिन खान खोजे। पसलेले प्लाष्टिकमा पोको पारेर चाउमिन दिए। एक बोत्तल पानी साथमै थियो।
हतारिदैं छिटछिटो पाइला सारेर अगाडी बढेका उनी धेरै कोही संग बोलेनन्, अनुहारको रंग फुङग उडेजस्तो थियो। उनको हतास भावभंगी देखेर मात्रै स्थानीय पसलेको ध्यान खिचिएको थियो। ती पसलेले अलि पर पुग्दासम्मै उनलाई हेरिरहेका थिए।
तीन–चारवटा झोला एक्लैले बोकेका थिए। बजारसम्म गाडीमा आएपनि त्यसपछि पैदलै हिन्दै थिए। झण्डै ४–५ किलोमिटर उकालो हिडेपछि हरफोड मोडमा पुगे।
सिरसिरे हावा बहिरहेको थियो। थकान महसुस भयो। एकछिन सुस्ताउन खोजे सल्लाको फेँदमा। त्यसपछि आँखा खोलेनन्, सदाका लागि अस्ताए!
बाटो हिन्ने बटुवाहरुले पनि सुतेका होलान भनेर ख्याल गरेनन्।
वडाध्यक्षका अनुसार कन्ट्याक ट्रेसिङका स्वास्थ्यकर्मीहरु त्यही बाटो जाँदा चाल पाइएको थियो। बोहराको स्वाब संकलन गरेर पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ पाइएको छ।
बुबाको निधनका कारण सानै उमेरमा भारत होमिएका बोहरा आफूले पढ्न नपाएपनि आफ्ना दुई भाई र बहिनीलाई उच्च शिक्षा दिलाएका थिए।
उनका दुई भाईहरु अहिले काठमाडौंमा शिक्षण पेशामा संलग्न छन्।
बेङलोरमा भाडा माझेरै उनले परिवारको खर्च चलाइरहेका थिए। उनको परिवारमा आमा, पत्नी र ४ बर्षीय छोरा छन्। बोहराको निधनले गाउँ शोकमग्न छ।