बलात्कारको प्रतिकार गर्न खोज्दा मामाले गरे १२ वर्षीया मिनाको हत्या

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार


सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका– १ कटहरेकी १२ वर्षीया मिना राईलाई सोही ठाउँका १५ वर्षीय रञ्जीत राईले बलात्कारपछि हत्या गरेको खुलेको छ।

बलात्कार गर्न लाग्दा प्रतिकार गरेपछि रञ्जितले मिनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

शुक्रबार राति हत्या गरिएको अवस्थामा उनी घरमै मृत फेला परेकी थिइन। साँझ छिमेकीको घरमा धामी बसेको हेर्न मिना उनकी आमा बिमला र बुवा दशरथसँगै गएकी थिइन् ।

निन्द्रा लागेपछि उनी सुत्न एक्लै घर फर्किएकी थिइन् । उनको घरमा पसल समेत छ।

पसलमा रञ्जित ११ बजे टर्चको ब्याट्री खरिद गर्न पुगेको अनुसन्धामा पाइएको सुनसरी प्रहरी प्रमुख कमल थापाले बताए। सोही बेला उनले घटना घटाएको प्रहरीको भनाइ छ।

घटना लगत्तै धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट ‘लैला’ नामको तालिमप्राप्त कुकुर मगाई अनुसन्धान भएको थियो। लैला घटनास्थलदेखि रञ्जितको घरसम्म पुगेको थियो।

मिना र रञ्जितको घर करिब ७० मिटरको दूरीमा छ। नाताले भने दुवै जना मामा–भान्जी हुन्।

प्रहरीका अनुसार शुक्रबार राति मिना घर आएपछि ढोकाको ताला नखोली झ्यालबाट छिरेर तल्लो तलाको खाटमा सुतेकी थिइन्। मिना सुतेको देखेपछि रञ्जित पनि सोही झ्यालबाट छिरेर जबरजस्ती गर्न खोजेका थिए।

अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार रञ्जितले बलात्कार गर्ने मनसायले मिनाको सुरुवाल धेरै पटक खोल्ने प्रयास गरेको देखिएको छ।

‘प्रतिकारको क्रममा मिनाले रञ्जितको हातमा टोकेपछि फलामको औजारले टाउकोमा प्रहार भएको र मिना ढलेको अनुसन्धानमा खुलेको छ,’ उनले भने।

त्यसपछि उनकै सलले घाँटी थिची हत्या गरिएको हुँदा मिनाको टाउको र घाँटीमा चोट छ। पक्राउ परेका रञ्जितको हातमा मिनाले टोकेको चोट भेटिएको पनि ती प्रहरीले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानअनुसार मिनाको बलात्कार प्रयास मात्र भएको र आवेगमा हत्या भएको प्रहरीले जनाएको छ।

रञ्जित राईसहित ८ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान भइरहेको सुनसरी प्रहरी प्रमुख थापाले जानकारी दिए। ‘

उनका अनुसार मिनाको हत्यामा राईको संलग्नता पुष्टि भइसकेको छ भने बाँकी ७ जनाको अनुसन्धान भइरहेको छ। पक्राउ परेका रञ्जितले मिनाको हत्या आफूले गरेको प्रहरी समक्ष स्वीकार गरिसकेका छन्।

इलाका प्रहरी कार्यालय चकरघट्टी र जिल्ला प्रहरी कार्यालय सुनसरीको दुई वटा अनुसन्धान टोलीले बाँकी पक्राउ परेकाहरूको पनि संलग्नता छ/छैन भनेर अनुसन्धान गरिरहेका छन्।

हत्या हुनु केही घण्टा अघि रञ्जित र बाँकी ७ जना युवासँगै रहेको अनुसन्धानले देखिएकाले उनीहरू अनुसन्धानको दायरामा परेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्