चिनियाँँ सरकारी मिडियालाई सीमामा भारतीय सेनाले गोली चलाउने डर!

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  २ : २४


बेइजिङ । भारत र चीन बीचको सीमा तनाव समाधानका लागि दुवै देशबीच सैन्य र कूटनीतिक तहमा प्रयास भइरहेको छ। तर, दुबै देशका मिडियाहरु भने झन् तनावपूर्ण बयानबाजीमा उत्रेका छन्।

यसैबीच, चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सले एक रिपोर्ट प्रकाशित गरेको छ। जसमा गोल्बल टाइम्सले भारतले पहिलो फायरिंग खोल्नसक्ने उल्लेख गरेको छ।

यदि भारतबाट गोली चलाईए त्यसको परिणाम ‘असह्य’ हुने रिपोर्टमा उल्लेख छ।

उक्त अखबारले पर्यवेक्षकको हवाला दिँदै लेखेको छ, भारतले सिमामा सैनिकको संख्या बढाउनु र चिनियाँ सेनासँगको विवादमा गोली चलाउने आदेश दिनाले दुवै देशबीच तनाव बढाउनेछ, यसको परिणाम भारतको लागि पनि खतरनाक हुनेछ।

सीमामा तनाव कम गर्न दुवै देश बीच सहमति भएको भनिएका बेला उक्त अखबारले यस्तो रिपोर्ट प्रकाशित गरेको हो।

‘दुई देशका सैन्य कमाण्डर स्तरको वार्तामा फ्रन्टलाइनको मोर्चामा सेनाको संख्या नबढाउने सहमति भएको थियो। तर भारत आफ्नो प्रतिबद्धताप्रति इमान्दार भैरहेको छैन जसले तनाव बढाउँदैछ।’ रिपोर्टमा उल्लेख छ।

चिनियाँ सरकारको मुखपत्र रहेको उक्त अखबारले विज्ञहरूको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘तनावलाई ध्यानमा राखेर चीनले भारतको चालबारे सीमामा अलर्ट रहनुपर्छ र कुनै पनि सम्भावित सैन्य भिडन्तका लागि तयार हुनुपर्दछ किनकि भविष्यमा सीमामा यो सामान्य हुने वालाछ।’

भारतीय अखबारको रिपोर्ट पछिको प्रतिक्रिया

गोल्बल टाइम्सले यो प्रतिक्रिया भारतीय पत्रिका ‘द हिन्दु’को एक रिपोर्ट पछि आएको जनाएको छ।

हिन्दुको उक्त रिपोर्टमा भनिएको थियो, ‘भारतले चीनलाई स्पष्ट सन्देश दिएको छ, यदि पीएलएका सैनिकहरू अगाडि बढ्छन् भने भारतीय सैनिकले उनीहरूलाई गोली हान्न सक्छन्।’ एक शीर्ष भारतीय अधिकारीलाई उदृत गर्दै हिन्दुले उक्त कुरा छापेको थियो।

ती अधिकारीले भनेका थिए, ‘हामीले चीनलाई भनिसकेका छौं यदि तिमीहरु नजिक आउँछौ भने हामी गोली चलाउँने छौ। सैनिकलाई आत्मरक्षाका लागि गोली हान्ने अधिकार दिइएको छ।’

पूर्वी लद्दाखमा हालसालै दुवै देशका सैनिकहरू बीच गोली हानाहान भएको खबर सार्वजनिक भएका थिए।

भारत र चीनबीचको छैठो वार्तामा दुबै देश सीमामा सैनिक संख्या नबढाउन सहमत भएका छन्। भारतीय अधिकारीहरूले सीमामा आफ्नो कडा उपस्थिति कायम राख्ने बताएका छन।

ग्लोबल टाइम्सको पछिल्लो रिपोर्टमा बेइजिङको चिंगुवा विश्वविद्यालयका विज्ञ कियान फेभल भन्छन्, ‘भारतले सीमा क्षेत्रमा कुनै पनि किसिमले निर्माण र सैनिक तयारी रोक्दैन।’

भारतले पाकिस्तान र चीनको सीमानामा दुईदेखि तीन लाख सैनिक खटाएको उनको दाबी छ।

हालैका महिनामा चीन र भारतीय सैनिकबीच गल्वान भ्यालीमा भएको हिंस्रक संर्घषमा २० भारतीय सैनिकको ज्यान गएको थियो।-बीबीसी हिन्दी


प्रतिक्रिया दिनुहोस्