सिन्धुपाल्चोक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोकलाई प्राकृतिक प्रकोपबाट बचाउन अध्ययन, न्यूनीकरण तथा सहजीकरण कार्यदल–२०७७ निर्माण गरी जोखिमसम्बन्धी प्रारम्भिक सर्वेक्षण प्रतिवेदन तयार पारेको छ।
सरकारले सिन्धुपाल्चोकलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेसँगै नेकपा सिन्धुपाल्चोकले जोखिमयुक्त बस्ती स्थानान्तरणको प्रारम्भिक सर्वेक्षण प्रतिवेदनमाथि पार्टी र जनप्रतिनिधिबीच छलफल गरेको हो ।
सात सदस्यीय कार्यदलले बाढीपहिरोग्रस्त क्षेत्रमा पुग्दै पीडित प्रभावितसँग अन्तरक्रिया गरी सुरक्षित स्थानमा बस्ती स्थानान्तरणका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने भएको छ ।
जिल्लाका जोखिमयुक्त बस्तीको पहिचान र स्थानान्तरणका लागि वैकल्पिक स्थानसहितको प्रतिवेदन सम्बन्धित निकायमा पेश गरिने नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले बताए ।
कार्यक्रममा स्थानीय तहका प्रतिनिधिहरूले आ-आफ्ना गाउँनगरमा विपद् जोखिमका अवस्थाबारे ‘ब्रिफिङ’ गरेका छन्। जिल्लाभर ३०० भन्दा बढी बस्ती जोखिममा रहेको र ती बस्ती स्थानान्तरणका लागि नेकपाले कार्यदल नै बनाएर राजनीतिक तहबाट पहल थालेको नेकपाका केन्द्रीय सदस्य एवं कार्यदलका संयोजक माधव सापकोटाले जानकारी दिए ।
नेकपा सिन्धुपाल्चोकको प्रकोप अध्ययन, न्यूनीकरण तथा सहजीकरण कार्यदलले कमजोर भूबनोट र विकास निर्माणकार्यबीच तालमेल नमिल्दा विपद् निम्तिएको निष्कर्ष निकालेको छ ।
प्रकृतिक स्रोतहरुको अव्यवस्थित र अत्यधिक दोहन पनि विपद्को कारण भएको कार्यदलको निष्कर्ष छ ।
कार्यदलको प्रारम्भिक प्रतिवेदनमा जोखिमयुक्त र न्यूनतम मापदण्ड नपुगेको ग्रामीण सडक पनि प्राकृतिक विपद्को कारण मानिएको छ।