कोरोनाबाट मृत्यु हुनेको संख्या बढेपछि अष्ट्रेलियामा स्वास्थ्यमन्त्रीले दिइन् राजीनामा

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ६ : ३०


क्यानवेरा । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो देशले कोभिड–१९ विरुद्धको खोप विकास गरेमा खोप विकासबारे प्राप्त हुने जानकारी अन्य मुलुकसँग बाँड्ने घोषणा शनिबार गरेका छन।

संयुक्त राष्ट्र संघको साधारण सभालाई सम्बोधन गर्दै उनले भने, “अस्ट्रेलियाले कोभिड–१९ खोप परीक्षणमा हुने कुनै पनि खोजलाई बाँड्न प्रतिवद्ध छ।

प्रभानमन्त्री मोरिसनले भने, “जसले खोप भेट्टाउँछ उसले यसलाई बाँड्नै पर्छ । विश्वव्यापी महामारी अन्त्यको लागि व्यापक साझेदारी नैतिक जिम्मेवारी हो।”

“अष्ट्रेलियाको धारणा स्पष्ट छ । यदि हामीले कोभिड–१९ विरुद्धको खोप पत्ता लगायौँ भने हामी सहकार्य गर्नेछौ । विश्वव्यापी महामारीलाई अन्त्य गर्न यो वाचा हामी सबैले गर्नुपर्नेछ,” उनले थपे।

सबैभन्दा बढी प्रभावित भिक्टोरियाका स्वास्थ्यमन्त्रीद्वारा राजिनामा

विश्वका अन्य विकशित मुलुकको तुलनामा अष्ट्रेलियामा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या कम रहेको छ।

शनिबार दिउँसोसम्म अस्ट्रेलियामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या २७ हजार १६ पुगेको छ भने गत २४ घण्टामा थप सङ्क्रमित पुष्टि भएका व्यक्तिको सङ्ख्या १७ रहेको छ ।

महामारीले सबैभन्दा बढी प्रभावित राज्य भिक्टोरियामा गत २४ घण्टामा नयाँ एक व्यक्तिको मृत्यु भएको छ।

यससँगै अष्ट्रेलियामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको मृत्यु सङ्ख्या ८७० पुगेको छ भने ७८२ जना भिक्टिोरियाका रहेका छन् ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा देशभर कोभिड–१९ का कारण मृत्यु भएको सङ्ख्याको ८९.८ प्रतिशत व्यक्तिको मृत्यु भएपछि भिक्टोरिया राज्यका स्वास्थ्य मन्त्रीले नैतिकताको आधारमा शनिबार राजिनामाको घोषणा गरेकी छन।


प्रतिक्रिया दिनुहोस्