कोरोना संक्रमणबाट क्याम्पस प्रमुखको मृत्यु

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ५ : २२


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बर्दियाको बबई क्याम्पसका प्रमुख विनोद अग्रवालको निधन भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनलाई दिउँसो नेपालगन्जको भेरी अस्पताल लैजानेक्रममा मृत्यु भएको हो।

आज श्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने क्रममा उनको निधन भएको भेरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रमोद धितालले जानकारी दिए।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले शव व्यवस्थापनको लागि आवश्यक समन्वय भइरहेको बताए।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ७ घर भएका ५० वर्षीय अग्रवाललाई दुई वर्ष अघि फोक्सोको क्यान्सर भएको थियो। हाल उनले फोक्सोको क्यान्सरको उपचार गराइरहेका थिए।

गणित विषयका सहप्राध्यापक अग्रवाल करिब एक दशकदेखि क्याम्पस प्रमुखका रुपमा कार्यरत थिए।

चार दिनअघि स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि उनी घर मै आइसोलेशनमा बसेका थिए।


प्रतिक्रिया दिनुहोस्