चितवनमा मृत्युपश्चात एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएका कैलाली गोदावरी नगरपालिका–९ का ३० वर्षीय पुरुषमा आज कोरोना पुष्टि भएको हो।
मिर्गौलाको दीर्घरोग र श्वासप्रश्वासको समस्या भई हिजो मात्रै ती पुरुष अस्पताल भर्ना भएका थिए।
जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ।
तीमध्ये चितवनका १८, मकवानपुरका सात, नवलपरासीपूर्वका पाँच, कैलालीका दुई, तनहुँ, रौतहट, सर्लाही, गोरखा र बाराका एक/एक जना रहेका छन्।
यस्तै, कोरोना सङ्क्रमणबाट सप्तरीका एक पुरुषको मृत्यु भएको छ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत राजविराज नगरपालिका–३ हटियाका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा सम्लग्न थिए ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना भएका उनीको स्वास्थ्य अवस्था जटिल भएपछि धरान भर्ना गरिएको थियो । धरानमा भर्ना भएका उनीको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
धरानमा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीलाई प्रतिष्ठानको कोभिड अस्पतालमा सारिएको थियो । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।