ठगीको उजुरीपछि काभ्रे बहुमुखी क्याम्पस प्रमुख र अध्यक्षसहित ३ जना फरार

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १० : ३४


काभ्रे । ठगीको उजुरी परेपछि बनेपा नगरपालिका बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसका प्रमुख , व्यवस्थापन समितिका अध्यक्षसहित तीन जना फरार भएका छन्।

साता दिनअघि विद्यार्थी र अभिभावकले उनीहरूविरूद्ध ठगीको उजुरी दिएका थिए।

गत शैक्षिक सत्रमा कक्षा ११ र १२ कम्प्युटर इन्जिनियरिङ संकायमा भर्ना भएका विद्यार्थी तथा उनका अभिभावकले क्याम्पसबाट आफूहरू ठगिएको जनाउँदै बिगो दाबीसहित यही असोज १ गते मुद्दा दर्ता गराएका हुन्।

इलाका प्रहरी कार्यालय बनेपाले यही असोज २ गते क्याम्पस प्रमुख के जी बैदार, व्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायस्थ र व्यवस्थापन समिति सदस्य कृपेन्द्र श्रेष्ठविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ।

पक्राउ पुर्जी जारी भएपछि फरार तीन जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए ।

क्याम्पसले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अनिवार्य विषय अध्यापन नगराई परीक्षामा सामेल गराएकाले भविष्यमा खेलवाड भएको जनाउँदै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले क्याम्पस प्रमुखको राजीनामा मुख्य सर्तसहित विद्यार्थीको शुल्क फिर्ता तथा थप क्षतिपूर्तिसहितको माग राख्दै गत माघ २६ गतेदेखि प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको थियो।

प्रहरी अनुसन्धानका लागि ७ महिनापछि बिहीबार तालाबन्दी खोलिएको अनेरास्ववियुका केन्द्रीय सदस्य शालिकराम पराजुलीले बताए।

उनका अनुसार कक्षा ११ र १२ मा कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीको मुख्य विषय रसायन विज्ञान र भौतिक विज्ञान अनिवार्य विषयको सट्टा नेपाली र अंग्रेजी अध्यापन गराएका कारण स्नातक तहमा विद्यार्थीले कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न नमिल्ने भएपछि विद्यार्थी आन्दोलित भएका हुन्।

‘राष्ट्रिय परीक्षा बोर्डले स्नातक तहमा कम्यूटर इन्जिनियरिङ अध्ययन गर्न नमिल्ने र करिकुलम नमिलेका कारण कक्षा ११ का विद्यार्थीलाई परीक्षामा सामेल गराउन नसकिने जानकारी दिएपछि कलेजको ठगीधन्दा खुलेको हो,’ पराजुलीले भने। रासस

 

 


प्रतिक्रिया दिनुहोस्