आईपीएलमा सन्दीप आवद्ध दिल्ली क्यापिटल्सको लगातार दोस्रो जीत

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ११ : ४७


काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार दोस्रो जीत निकालेको छ ।

संयुक्त अरब ईमिरेट्समा जारी लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा चेन्नेई सुपर किङ्सलाई ४४ रनले पराजित गर्दै दिल्लीले लगातार दोस्रो जीत हासिल गरेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७५ रनको योगफल बनाएको थियो ।

दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन मात्रै बनाउन सक्यो ।

चेन्नेईका लागि फाप डु प्लेसिसले ४३ रन जोडे । केदार जाधवले २६ रन बनाउँदा शेन वाट्सनले १४ र मुराली विजयले १० रन बनाए ।

यस्तै, कप्तान महेन्द्रसिंह धोनीले १५ तथा रबीन्द्र जडेजाले १२ रन बनाए ।

चेन्नेईलाई सस्तैमा समेट्न दिल्लीका कासिगो राबडाले ३ विकेट लिए । यस्तै एन्नीच नोर्ट्जेले २ तथा अक्षर पटेलले १ विकेट लिए ।

शुक्रबारको खेलमा पनि सन्दीपलाई भने दिल्लीले मैदान उतारेको थिएन । सन्दीप लगातार दोस्रो खेलमा पनि प्लेइङ ११ मा पर्न सकेनन् ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएका दिल्लीका लागि पृथ्वी शले ६४ रनको अर्धशतकीय पारी खेले । शिखर धवनले ३५ रन जोडे भने ऋषब पन्त अविजित ३७ रन जोडे भने कप्तान श्रेयस आयरले २६ रन बनाए ।

चेन्नेईका पियुस चावालाले २ विकेट लिए भने साम करनले १ विकेट लिए ।

दोस्रो जीतसँगै दिल्लीले ४ अंक जोडेको छ । ४ अंकसहित दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले पहिलो खेलमा किङ्स इलाभेन पन्जावलाई सुपर ओभरमा पराजित गरेको थियो ।

तीन खेल खेलिसकेको चेन्नेईको भने यो दोस्रो हार हो । पहिलो खेलमा मुम्बई ईन्डियनलाई ५ विकेटले पराजित गरेको चेन्नेई दोस्रो खेलमा भने राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो ।

३ खेलबाट २ अंक जोडेको चेन्नेई अंक तालिकाको पाँचौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्