कोरोना संक्रमित पत्ता लगाउन फिनल्याण्डको एयरपोर्टमा कुकुरहरु तैनाथ

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ४ : २१


एजेन्सी । के कुकुरले सुँघेरै कोरोना भाइरसको संक्रमण छ या छैन भनेर पत्ता लगाउन सक्ला? कुकुरले पनि कोरोना पत्ता लगाउँछ भनेर सुन्दा अनौठो लाग्न सक्छ!

तर, फिनल्याण्डले आफ्नो देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा सुँघेरै कोरोना पत्ता लगाउन सक्ने कुकुरहरु परिचालन गरेको जनाएको छ।

फिनल्याण्डका प्रशिक्षकहरूले कुकुरले केवल ७ मिनेटमा कोरोना भाइरससँग सम्बन्धित गन्ध पहिचान गर्न सिकेको दाबी गरेका छन्।

४ महिनाको ट्रेनिङपछि कोरोना टेस्ट गर्ने वैकल्पिक विधिको रुपमा कुकुरहरु एयरपोर्टमा परिचालन गरिएको समाचारमा जनाइएको छ।

अब त्यहाँ कोरोना संक्रमित यात्रुको छिटो पहिचान गर्न यो प्रभावकारी विधी बन्ने आशा गरिएको छ।

देशकै ठूलो हेल्सिन्कि इन्टरन्यासनल एयरपोर्टले यसै हप्ता ‘कोसी’ नामक कुकुर सहित १० वटा कुकुर भित्र्याएको छ।

‘कोसी’ र ‘माइना’ नामक कुकुरसँग प्रशिक्षक सुसन्ना पाविलाइन, सुँध्ने कुकुरहरू यात्रुको नमूनाबाट कोभिड-१९ पत्ता लगाउन प्रशिक्षित भइरहेका छन्, हेल्सिन्कि एयरपोर्ट, सेप्टेम्बर २२, २०२०

पायलट प्रोग्राम अन्र्तगत ल्याइएका ती कोरोना भाइरस सुँघ्ने कुकुरहरूको काम कोभिड-१९ संक्रमित व्यक्तिहरूको पहिचान प्रक्रियालाई तीव्र बनाउनु रहेको छ।

‘हामी सुरुवातकर्ता हौं’ हेल्स्निकी एयरपोर्टका निर्देशक उल्ला लेटिजेफले भने, ‘जहाँसम्म हामीलाई थाहा छ अन्य कुनै एयरपोर्टले कोभिड १९ बिरूद्ध यति ठूलो मात्रामा क्यानाइन गन्ध पत्ता लगाउने कोशिस गरेका छैन।’

त्यहाँ कुकुरहरुले काम गर्ने सिफ्ट पनि मिलाइएको छ। एयरपोर्टमा एक सिफ्टमा ४ वटा कुकुरले काम गर्ने छन्। परीक्षण गर्ने यात्रुको कुकुरहरूसँग प्रत्यक्ष सम्पर्क भने हुँदैन।

यात्रुहरुको र्याल संकलन गरेर एक कपमा राखिन्छ र जसलाई पछि कुकुरलाई सुँध्नका लागि दिइन्छ।

यस्तो सेवा मुख्यतया बाहिरी देशबाट आएका यात्रीहरूका लागि रहेको एयरपोर्टले छ।

एयरपोर्टका अनुसार हेलसिन्की विश्वविद्यालयको पशु चिकित्सा संकायको अनुसन्धान समूहले गरेको प्रारम्भिक परीक्षणले देखाएको छ, ‘कुकुरहरूले लगभग १०० प्रतिशत निश्चितताका साथ भाइरसको गन्ध पत्ता लगाउन सक्दछन्।’

नमूना पोजेटिभ भएको संकेत दिन कुकुरले विशेष आवाज निकाल्छ भने नेगेटिभ नमूनामा कुनै संकेत गर्दैन। ऊ त्यो नमूना सरक्क छाडेर अर्को नमूना सुँघ्न थाल्छ।

कोरोना भाइरसको छुट्टै गन्ध हुने र संक्रमित व्यक्तिमा त्यही गन्ध पाइने विभिन्न अध्ययनकर्ताले बताएका छन्।

हाल अमेरिकामा पनि कुकुरले सुँघेर साँच्चै कोरोनाभाइरस पत्ता लगाउन सक्छ या सक्दैन भनेर निष्कर्षमा पुग्न अझै परीक्षण जारी छ।

गत अप्रिलमा अमेरिकाको पेन्सल्भेनिया विश्वविद्यालयमा यसबारे एउटा अध्ययन सुरू गरिएको थियो। उक्त अध्ययनको नतिजा अझै सार्वजनिक गरिएको छैन।

 


प्रतिक्रिया दिनुहोस्