काठमाडौं । गत आइतबार (असोज ४ गते) धादिङको गजुरीमा भएको पेट्रोल पम्प दुर्घटना शंकास्पद रहेको छानबिन गर्नका लागि नेपाल आयल निगमले प्रहरीलाई पत्राचार गरेको छ ।
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर गत आइतबार धादिङको गजुरी गाउँपालिका–६ चरौंदीबाट त्रिशुली नदीमा खसेको थियो । त्रिशुली नदीमा खसेको ना ४ ख २८२२ नम्बरको ट्याङ्करमा नदीमै आगो लागेको थियो ।
नदीमा खसेको ट्याङ्कर नस्ट भए पनि ट्याङ्करका चालक सुदीप बोहोरा र सहचालक मनिष नगरकोटी सुरक्षित रहेका थिए ।
उक्त दुर्घटना शंकास्पद रहेको पाइएपछि निगमले छानबिनका लागि दुर्घटनास्थल रहेको इलाका प्रहरी कार्यालय गजुरीलाई पत्राचार गरेको हो ।
निगमको थानकोट प्रादेशिक डिपोका एक अधिकारीका अनुसार पछिल्लो समय पेट्रोलमा मिसावट गरेर ल्याउने गरिएको छ ।
पेट्रोलमा मट्टितेलसहित विभिन्न रसायन मिसाउने गरेको पाइएपछि आयल निगमले कडाइ गर्न थालेको थियो । पछिल्लो समय पेट्रोलमा मिसावट गर्ने ट्याङ्करका चालकलाई पक्राउ गरी निगमले थप कारबाहीका लागि स्थानीय प्रशासनलाई बुझाउने गरेको थियो ।
गत आइतबार दुर्घटनामा परेको ट्याङ्करमा पनि मिसावट गरिएको पूर्व सूचनामा निगममा आइपुगेको थियो । सोहीअनुसार निगरानी गरिएपनि थानकोट नपुग्दै ट्याङ्कर नदीमा खसेको थियो ।
निगमको पत्राचारपछि गजुरी प्रहरीले ट्याङ्करका चालक बोहोरा र सहचालक नगरकोटीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।