काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यातायातमा सङ्क्रमण धेरै फैलनसक्ने भन्दै आजदेखि सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको, भिडभाड गरे नगरेको, यात्रुहरूले मास्क लगाएको नलगाएको, बढी भाडा लिए नलिएको र भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केको वा नछर्केको अनुगमन गरेको हो।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोभिड–१९ बाट यात्रुमाथि हुने जोखिमलाई ध्यानमा राखेर उपत्यकाका मुख्य बसपार्क र भीडभाड हुने क्षेत्रमा अनुगमनलाई तीव्र पारेको जानकारी दिए।
महाशाखाले आजमात्र स्वास्थ्य मापडण्ड पालना नगर्ने ४०० भन्दा बढी भाडाका सवारी साधनलाई कारबाही गरेको छ।
महाशाखाले सार्वजनिक सवारी साधनले स्वास्थ्य मापदण्ड पालना नगरे वा तोकिएको भन्दा बढी भाडा लिए ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न आग्रह समेत गरेको छ।