चितवन । जिल्लामा एक जनाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचाररत् बारा कलैया नगरपालिका वडा नं १० का ७७ वर्षीय पुरुषको मृत्युपछि आज सङ्क्रमण पुष्टि भएको हो।
ती पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए।
यही असोज ३ गते ज्वरो र निमोनियाको समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो।
आज नै चितवन मेडिकल कलेजमा उपचारत् एक युवकको पनि कोरोना सङ्क्रमणबाट मृत्यु थियो ।
प्रदेश स्तरीय सरुवा रोग अस्पतालमा बनाइने
भरतपुर अस्पतालमा प्रदेश स्तरीय सरुवारोग अस्पताल बनाइने भएको छ। पचास श्ययाको अस्पताल निर्माणका लागि भरतपुर अस्पताललाई आवश्यक प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्राचार गरेको छ।
अस्पताल विकास समतिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार मन्त्रालयले सरुवारोग रोकथाम, नियन्त्रण र उपचार एवम् स्वास्थ्य विपद् व्यवस्थापनको तयारी तथा प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सेवा सहितको अस्पताल निर्माण गर्ने सरकारको नीति तथा कार्यक्रम अन्तर्गत यहाँ प्रदेश स्तरको अस्पताल निर्माण गरिने भएको हो।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा त्यस प्रकारको ३ सय श्ययाको केन्द्रीय र न्यूनतम ५० श्ययाको प्रदेश स्तरीय अत्याधुनीक सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने जनाइएको थियो।
सोही अनुरुपको प्रदेश स्तरीय अत्याधुनीक सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापनाका लागि मन्त्रालयले ८ करोड निकासा दिने गरि अस्पताललाई पत्राचार गरेको अध्यक्ष डा अधिकारीको भनाई छ । मन्त्रालयले पत्राचार गरेसँगै आवश्यक प्रक्रिया अघि बढाइएको छ । अस्पतालको गुरुयोजनामा सरुवा रोग अस्पताल बनाउने ठाउँ नछुट्याइएकाले कुन ठाउँ उपयुक्त हुन्छ भन्ने विषयमा गृहकार्य थालिएको उनले जानकारी दिए।
उनले भने “एक वर्ष भित्रै काम गर्नु पर्ने भएकाले ठाउँ पहिचान गरि तत्काल काम अघि बढाउँछौ ।” संघीय अस्पताल भएको र चितवन सहित छिमेकी जिल्लाहरुबाट समेत बिरामी आउने भएकाले मन्त्रालयले भरतपुर अस्पताललाई प्राथमिकतामा राखेर अस्पताल निर्माणका लागि छनोट गरेको हो ।
यसैगरी अस्पताललाई संघीय सरकारले विशिष्टिकृत आकास्मिक सेवा भवन निर्माणका लागि मन्त्रालयले ९ करोड विनियोजन गरेको छ । मन्त्रालयले अस्पताललाई पत्राचार गरि ५० श्ययाको आकास्मिक कक्ष निर्माणका लागि निर्णय भएकाले प्रक्रिया अघि वढाउन निर्देशन गरेको छ।
अध्यक्ष डा अधिकारीले वजेटको सुनिश्चितता भएसँगै निर्माणका लागि आवश्यक प्रक्रिया अघि वढाउन लागिएको जानकारी दिए।
हालको आकस्मिक कक्ष साँघुरो र जीर्ण भएको छ । आकस्मिक कक्षमा बिरामीको बढ्दो चापसँंगै अव्यवस्थित भए पछि मन्त्रालयमा छुट्टै कक्ष निर्माणका लागि बजेट माग गरिएको थियो।
मन्त्रालयले अस्पताललाई गत वर्ष निकासा गरेको ८ करोडलाई निरन्तरता दिएको छ।
यसैगरी मन्त्रालयले मदनभण्डारी ट्रमा सेन्टरका लागि १ करोड, फर्नीचरका लागि रु ५० लाख, अस्पतालमा औजार खरिदका लागि ३ करोड, बन्दै गरेको ‘सि’ ब्लकका लागि ५ करोड निकासा दिने भएको जनाइएको छ।
अस्पतालमा खानेपानी र फोहोर व्यवस्थापनका लागि खानेपानी तथा सरसफाई मन्त्रालयले सहयोग गर्ने भएको छ।
उनले भने “१२ करोड हाराहारी खर्च हुने देखियो। यसका लागि स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको जानकारी आएको छ।”