तलब नदिएको भन्दै अनसनमा बसेका सत्याग्रहीलाई फोटोपत्रकार समूहको साथ

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ६ : ३१


नागरिक दैनिकमा कार्यरत श्रमजीवी पत्रकारको पेशागत हकहितका लागि सोही दैनिकमा कार्यरत सुविद गुरागाईँको अगुवाइमा भएको सत्याग्रहमा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपीजे)ले ऐक्यबद्धता प्रकट गरेको छ ।

विगत चार दिनदेखि आफ्नो श्रमको सम्मान र मासिक तलबका लागि निरन्तररुपमा झरीको पर्वाह नगरी पाँच दिने सत्याग्रह अभियानमा बसेका गुरागाइँ र उक्त दैनिकका श्रमजीवी पत्रकारहरूलाई हौसला र सङ्घर्षका लागि साथ दिन एनएफपीजे नेपालका महासचिव प्रदीपराज वन्तको नेतृत्वमा केन्द्रिय कमिटिका सम्पूर्ण सदस्यहरूको ऐक्यबद्धतामा उपस्थिति रहेको थियो।

सो अवसरमा सम्पूर्ण फोटोपत्रकारको क्यामेरा डाउन गरिएको थियो।

समूहका महासचिव वन्तले पत्रकार मात्र नभई कोभिडको क्रममा सधैँ अग्रपङ्क्तिमा रहेर आफ्नो ज्यानको बाजी लगाएर फोटोपत्रकारिता गर्ने कतिपय फोटोपत्रकार पनि ठूला भनाउँदा मिडियाबाट प्रताडित भएको बताए।

उनले मासिक तलब नपाउने, काम गरेर पनि आधा तलब थाप्न बाध्य पार्ने र फोटोपत्रकार क्लबका अध्यक्ष नै यसको चपेटामा परेकाले निरन्तर आन्तरिक सङ्र्घषमा दिनहरु बिताउनु पर्ने भएकाले नै यस सङ्घर्षको कार्यक्रममा फोटोपत्रकारको पनि आवाज अगाडि आवोस् भनेरसाथ दिन आएको बताए।

आगामी दिनमा पत्रकार तथा फोटोपत्रकारको श्रमको मूल्य र हकहितको लागि दवाब दिन जुनसुुकै सङ्घर्षका कार्यक्रममा ऐक्यबद्धता प्रकट गर्ने उनले बताए।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वसचिव धर्मेन्द्र कर्णको नेतृत्वमा २५ सदस्यीय ‘सञ्चारगृहका पीडित पत्रकार र कर्मचारी संयुक्त सङ्घर्ष समिति’ गठन गरिएको छ।

अन्नपूर्ण दैनिकबाट पीडित विकास कार्की सहसंयोजक रहेको सो सङ्घर्ष समितिका सदस्यहरुमा कान्तिपुर, अन्नपूर्ण, कारोबार, नागरिक दैनिक तथा एभिन्युज, माउन्टेन टिभी र नेपाल आजलगायतका सञ्चारगृहबाट पीडित पत्रकार तथा कर्मचारीहरु रहेका छन्।


प्रतिक्रिया दिनुहोस्