कुलमान नहुँदा बत्ति गएको हो ? उर्जा मन्त्रीले बोलाए बैठक

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ५ : ३४


काठमाडौं । चार वर्षे कार्यकाल सकिएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विदा भएसँगै धेरैले नियमित रुपमा बत्ति आउनेमा आशंका गरिरहेका छन् ।

केही समयअघिसम्म दैनिक १८ घन्टा भन्दा धेरै समय लोडसेडिङ हुने गरेको भएपनि घिसिङ प्राधिकरणको कार्यकारी प्रमुख भएर आएपछि लोडसेडिङ अन्त्य भएको थियो ।

तर, उनी कार्यकाल सकिएर बिदा भएसँगै मानिसमा पहिलेकै जस्तो विजुली जाने त होइन भन्ने त्रास रहेको छ । जसका कारण समाजिक सञ्जालमा घिसिङलाई प्राधिकरणमा निरन्तरता दिनुपर्ने माग चर्को रुपमा उठिरहेको छ ।

मानिसहरुले सरकारलाई दवाव दिन विभिन्न अभियान नै चलाएका छन् ।

कुलमान प्राधिकरणबाट विदा भएसँगै देशका विभिन्न स्थानमा सूचना विना नै विजुली काटिने गरिएको समाचारहरु सार्वजनिक भएका छन् भने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि कुलमान गएसँगै आफ्नो क्षेत्रमा बत्ति जाने गरेको उल्लेख गरेका छन् ।

पछिल्लो एक हप्ता यता बत्ति जाने क्रम बढेसँगै मानिसहरुले कुलमान नहुँदा बत्ति गयो भन्ने गरेपछि उर्जा मन्त्री वर्षमान पुनले चासो दिएका छन् ।

केही दिनयता ललितपुर, काठमाडौंका विभिन्न स्थानमा दैनिक केही घन्टाका दरले लगातार बत्ति गइरहेको जनाइएको छ ।

तर नेपाल विद्युत प्राधिकरणले भने लोडसेडिङ नभएको जनाएको छ ।

उर्जामन्त्रीको सचिवालयले समेत कुनै स्थानमा पूर्व सूचना विना बत्ति गएको भए खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

कुलमान विदा भएसँगै लोडसेडिङ भएको हो ?

कतिपयले कुलमान गएसँगै प्राधिरकणले अघोषित रुपमा लोडसेडिङ गरेको आरोप लगाइरहँदा प्राधिकरणका अधिकारी भने त्यसलाई स्वीकार गर्दैनन् ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले केही ठाउँमा बत्ति जाने कुरालाई व्यक्तिसँग जोडेर हेर्न नहुने बताउँछन् ।

वर्षाको समय भएको र कतिपय स्थानमा पोल, रुख भाँचिदा बत्ति काटेर मर्मत गर्नुपर्ने अवस्था बनेकाले केही समय बत्ति जाने गरेको उनको भनाइ छ ।

‘पानी पर्दा, हावाहुरीले गर्दा बत्ति जानु स्वभाविक हो यसलाई कुनै व्यक्तिसँग जोडेर हेर्नु गलत हो,’उनले भने,‘हाम्रा साथीहरुले सकेसम्म चाँडो समस्या समाधान गर्ने गरि खटिनु भएको छ । बाहिर हल्ला भएजस्तो लोडसेडिङ हुन थालेको होइन ।’

मन्त्रालयमा बैठक

कुलमान हटेसँगै बत्ति गयो भन्ने चर्चा जारी रहँदा उर्जा मन्त्री वर्षमान पुनले मन्त्रालयमा आकस्मिक बैठक बोलाएका छन् ।

आफ्नो सुरक्षामा खटिएका पीएसओलाई कोरोना संक्रमण पुष्टि भएसँगै होम आइसोलेनमा रहेका मन्त्री पुन कोरोना रिपोर्ट नेगेटिभ आएसँगै आजबाट नियमित काममा फर्किएका थिए ।

काममा फर्किएसँगै उनले मन्त्रालयमा आकस्मिक बैठक बोलाएका छन् ।

बत्ति गयो भन्दै गुनासो बढेपछि मन्त्री पुनले कोइरालाई बोलाएर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

सर्वसाधारणका गुनासा र जायज मागको तत्काल सम्बोधन गर्न उनले कोइरालाई निर्देशन दिए । प्राधिकरणको तहबाट समस्या समाधान नभए आफूलाई भन्न मन्त्रीले निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्