हप्तामा दुई दिन सार्वजनिक बिदा दिनेबारे अध्ययन समिति गठन

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


काठमाडौं । नेपालमा पनि हप्तामा २ दिन सार्वजनिक बिदा दिने तयारी गरिएको छ।

यसबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दुई दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्बाट गराउन गृहकार्यमा जुटेको छ।

बिहिबार पर्यटनमन्त्री योगेश भट्टराईको उपस्थितीमा बसेको बैठकले यसबारे अध्ययन समिति बनाउने र दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेस गर्ने निर्णय गरेको छ।

हप्तामा २ दिन बिदा दिनेबारे अध्ययन गर्न पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको छ।

जसमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका अधिकारी सिमेत सामेल रहने बताइएको छ।

उक्त अध्ययन समितिले देशभित्र तथा बाहिरको अभ्यास, लागत मूल्यांकन, लगायतका विभिन्न पाटोबारे अध्ययनपछि प्रतिवेदन बुझाउने छ।

कोरोना महामारीका कारण अहिले पर्यटन क्षेत्र धराशायी अवस्थामा छ। विदेशी पर्यटक आउने सम्भावना पनि छैन। यस्तो बेला आन्तरिक पर्यटन प्रवर्द्धनका लागि मन्त्रालयले यस्तो निर्णय गरेको बताइएको छ।

हाल नेपालमा हप्ताको एक दिन (शनिवार)मात्रै बिदा दिने गरिएको छ। यदि मन्त्रालयको उक्त प्रस्ताव क्याबिनेटमा पेश भए र बैठकबाट पारित भए हाल शनिबार मात्रै हुँदै आएको बिदामा थप एक दिन बिदा हुने छ।

२ दिन सार्वजनिक बिदाको माग

नेपालमा तत्कालिन राणा प्रधानमन्त्री भीम शमशेरले हप्तामा एक दिन शनिवार विदा दिने र बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खुल्ने व्यवस्था गरेको बताइन्छ। त्यसपछि सार्वजनिक बिदा दिने चलन त्यहीबाट प्रारम्भ भएको हो। जुन हालसम्मपनि जारी छ।

नेपालका सरकारी कार्यालयहरु हप्तामा ६ दिनसम्म चल्दछन्, शनिबार एकदिन मात्रै बिदा हुन्छ।

आइतबार देखि बिहिबार सम्म १० देखि ५ बजे सम्म दैनिक ७ घण्टा खुल्ने गर्छन भने शुक्रबार चाहिँ १० देखि ३ बजे सम्म ५ घण्टा खुल्छन्।

विदेशमा भने हप्तामा २ दिननै बिदा दिने गरिएको छ।

भारत चीन, अमेरिका, जापान लगायत विश्वका धेरै विकसित देशहरुमा शनिवार र आइतवार दुई दिन बिदा हुने गर्छ।

मुस्लिम धर्म मान्ने देशहरुमा पनि शुक्रबार र शनिबार दुई दिन सार्वजनिक बिदा दिइन्छ।

नेपालमा पनि विद्यमान व्यवस्था परिमार्जन हुनुपर्ने आवाज उठ्दै आएको छ।

यसअघि नेपाली काँग्रेसका सांसद गगन थापाले निजामती सेवा ऐनको विधेयक संसोधन गरि कर्मचारीलाई हप्ताको दुई दिन बिदा दिने प्रस्ताव गरेका थिए।

थापाले निजामती कर्मचारीलाई शनिबार र आइतबार बिदा दिने प्रस्ताव गरेका थिए।

साप्ताहिक रूपमा ४० घन्टा नघट्ने गरी कार्यालय समय तोक्ने र हप्ताको दुई दिन शनिबार र आइतबार बिदाको व्यवस्था गर्न उनले माग गरेका थिए। तर, उक्त प्रस्ताव तत्कालिन अवस्थामा परित भएन।

हाल, सरकार स्वयंम हप्तामा २ दिन बिदा दिने तयारीमा जुटेको हो। यद्धपी उक्त प्रस्ताव क्याबिनेट बैठकबाट पारित हुन्छ या हुँदैन हेर्न बाँकी छ।

 


प्रतिक्रिया दिनुहोस्