नारायणी नदीमा पानीको वहाव बढेपछि गण्डक ब्यारेजमा सबै ढोका खोलिए

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  १ : ३९


नवलपुर । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि नेपाल–भारत सिमामा रहेको गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ ।

नारायणी नदीमा पानी सतह बढेपछि बुधबार राति ११ बजेदेखि नवलपरासी पूर्व (नवलपुरको )बिनयी त्रिवेणी गाउपालिकाको त्रिवेणी स्थित गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो ।

नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बुधबार राति ११ बजेदेखि गण्डक ब्यारेजको सबै ३६ वटा ढोका खोलिएको बताए । ५ लाख क्युसेक सम्म मात्रै पानीको बहाव ब्यारेजले थेग्न सक्ने भएकाले वहाव बढेपछि सबै ढोका खोलिएको पंगेनीले बताए। ३ लाख प्रतिक्यूसेक पानीको प्रवाहलाई खतराको सूचक मानिने भएकाले ढोका खोलिएको हो ।

गए राति त्रिवेणी स्थित नारायणी नदीमा तिन लाख ९३ हजार क्युसेक पुगेको थियो । खतरा तहमा पानिको बहाव पुग्न थालेपछि भारतसंग समन्वय गरि ढोका खोलिएपछि पानिको सतह कम भएको प्रजिअ पंगेनीले बताए । पछिल्लो अपडेट अनुसार नारायणी नदीमा पानीको वहाव ३ लाख ४१ हजार क्युसेक रहेको पंगेनीले जानकारी दिए । ढोका खोलिएपछि खतरा केहि टरेको भए पनि प्रशाशनले सतर्क रहन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्