नेपाल–चीन सीमा विवाद: हुम्लामा भेटियो ११ नम्बर सीमास्तम्भ

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ११ : ४३


काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा राखिएको ११ नम्बरको सीमास्तम्भ (पिल्लर) फेला परेको छ ।

नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत हुम्लाको नाम्खा गाउँपालिका–६ टाकुलेमा ११ नम्बर सीमास्तम्भ फेला परेको हो ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरी नेतृत्वको टोलीले बुधबार उक्त सीमास्तम्भ फेला पारेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए ।

अध्यक्ष तामाङका अनुसार हिल्सास्थित नेपाल प्रहरीको चौकीभन्दा करिब ५ हजार २ सय मिटर माथि उक्त सीमास्तम्भ फेला परेको हो ।

प्रमुख जिल्ला अधिकारी समेत सहभागी टोलीका सदस्यसँग टेलिफोनमार्फत आफ्नो कुराकानी भएको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष तामाङले भने, ‘उहाँहरुको टोलीका सदस्यले हिउँमा दबिएको अवस्थामा ढुङ्गाजस्तो बस्तु देखेपछि माटो र हिउँ पन्छाउनुभएछ । सबै पन्छाएर हेर्दा ११ नम्बर पिल्लर फेला परेको हो ।’

केही वर्ष अगाडिसम्म नेपालीहरुले चौरी चराउने क्षेत्र नाम्खा गाउँपालिका–५ लाप्चाको लोलुङजुङ क्षेत्रमा चीनले भवन बनाएको विषय सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोली स्थलगत अध्ययनका लागि गरिएको थियो ।

स्थलगत अध्ययनका क्रममा भवन बनाएको क्षेत्र चिनियाँ पक्षले आफ्नो भूमि भएको दाबी गरेपछि प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोली ११ नम्बर सीमास्तम्भको खोजीमा लागेको थियो ।

११ नम्बर पिल्लर हराएका कारण हुम्लामा नेपाल र चीनबीच सीमाका सन्भर्दमा पटक पटक विवाद हुँदै आएको थियो । अब, पिल्लर फेला परेपछि विवाद समाधान हुने नाम्खा गाउँपालिकाका अध्यक्ष तामाङ बताउँछन् ।

यद्यपि, चीनले भवन निर्माण गरेको क्षेत्र चीन या नेपाल कसको भू–भागमा पर्छ भन्ने विषय यकीन भइनसकेको अध्यक्ष तामाङ बताउँछन् ।

चीनले नेपाली भूमि मिचेर भवन बनाएको भन्दै सञ्चारमाध्यममा खबर सार्वजनिक भएपछि नेपालस्थित चिनियाँ दूतावासले त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै ती भवनहरु आफ्नै भूभागमा बनाएको दाबी गरेको थियो ।

यस्तै, नेपाल सरकार (परराष्ट्र मन्त्रालय)ले पनि बुधबार एक विज्ञप्ती जारी गर्दै चीनले नेपाली भूमि मिचेर भवन नबनाएको जनाएको थियो ।


तस्वीर: नेपाल–चीन सीमाक्षेत्रअन्तर्गत ११ नम्बर सीमास्तम्भमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली, सौजन्य– सशस्त्र प्रहरी


प्रतिक्रिया दिनुहोस्