विद्युत प्राधिकरणको जीप बाढीले बगाउँदा १ को मृत्यु, २ बेपत्ता

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ९ : १९


कपिलवस्तुमा बाढीले आज जीप बगाउँदा एक जनाको मृत्यु भएको छ।

वाणगङ्गा नगरपालिकाको कोइली खोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको जीप बगाउँदा गुल्मी रेसुङ्गा– ९ उपल्लो तम्घासका सवारी चालक ३५ वर्षीय माधव पाण्डेको निधन भएको हो।

वाणगङ्गा– ९ भलवाडमा विद्युत् मर्मत गरेर फर्किने क्रममा बा १ च १०८९ नम्बरको जीपलाई बुधबार बाढीले बगाएको प्रहरीले जनाएको छ । नेविप्रा जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एक जना बेपत्ता भएका छन्।

जीपमा नेविप्राका चार कर्मचारी र सर्वसाधारण दुई जना सवार थिए।

घटनास्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले खोजतलास जारी राखेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

खोलामा पानीको बहाव भएको कारणले खोजतलास गर्न समस्या भएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्