वीर अस्पतालमा मृत्यु भएका कैदीको पोष्टमार्टम गरिने

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ४ : ५८


काठमाडौं । वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कैदीबारे सामाजिक सञ्जालमा आएका खबरहरु भ्रमपूर्ण रहेको वीर अस्पताल र केन्द्रीय कारागारले जनाएका छन्।

केन्द्रीय कारागारमा रहेका असोज ३ गते भैरह्वाका ६३ बर्षीया रामलखन जयसवालको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

जेलमा कैदीको मृत्युबारे मृतकका आफन्तले विभिन्न आशंका गरेपछि आज संयुक्त पत्रकार सम्मेलन गर्दै केन्दीय कारागार र वीर अस्पतालले भ्रमको पछि नलाग्न आग्रह गरेका छन्।

जैसवालको मृत्यु सामान्य ढंगबाटै भएको जिकिर गर्दै अस्पताल र कारागारले मृत्यु शंकास्पद नरहेको स्पष्ट पारेका हुन।

पार्किडसन र उच्च रक्तचापबाट ग्रसित जैसवाललाई अचानक असोज ३ गते राति ९ः४५ बजे श्वास प्रश्वासमा समस्या आएपछि बन्दीगृहभित्रबाट केन्द्रीय कारागार अस्पतालमा पठाइएकोमा त्यहाँबाट उनलाई थप उपचारका लागि वीर अस्पताल पठाइएको विज्ञप्तिमा उल्लेख छ।

उपचारको क्रममा मृत्यु भएपछि पोष्टमार्टमका लागि उनको कोरोना परीक्षण गर्दा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको थियो।

पोष्टमार्टममा यदि कुनै केहि गडबडी भए त्यसका लागि अनुसन्धान गरिने समेत जनाइएको छ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले पनि कैदमा रहेका रामलखन जयसवालको उपचारका क्रममा अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मृत्युपछि शवको स्वाब संकलन गर्दा उनमा असोज ५ गते कोभिड-१९ पुष्टि भएको बताए।

सामाजिक सञ्जालमा फैलिएजस्तो घटना नभएको प्रवक्ता गौतमले प्रष्ट पारे।

 


प्रतिक्रिया दिनुहोस्