पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रका ६२ सैनिक कर्मचारीलाई कोरोना संक्रमण

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : ५३


काठमाडौं । काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहेका ६२ जना सैनिक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सैनिक स्रोतका अनुसार थप ६२ संक्रमितमध्ये अधिकांश संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जाने तयारीमा थिए ।

गत भदौ २९ गते लिबिया जान लागेका ३७ जना सैनिकलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

कोरोनाको संक्रमण देखिएपछि नेपाली सेनाले अन्तिम समयमा आएर उडान समेत स्थगित गरेको थियो ।

भदौ २९ गते कोरोना पुष्टि भएका ३७ जनाको कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण गर्ने क्रममा थप ६२ जनामा संक्रमण पुष्टि भएको सैनिक स्रोतले जानकारी दिएको छ ।

पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा हाल करिब २ हजार सैनिक रहेका जनाइएको छ । जसमध्ये शान्ति मिसनका लागि सञ्चालन गरिने तालिममा सहभागी सैनिकलाई कोरोना देखिएको हो ।

नेपाली सेनामा मात्रै हालसम्म २ हजार १ सय ४५ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट १ जना सैनिकको मृत्यु भएको छ भने ४ सय ८९ जना संक्रमण मुक्त भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्