कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १२ : ३२


काठमाडौं । ‘हिमचितुवा’को नामले चर्चित कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

काठमाडौंको टेकुस्थित घाटमा सशस्त्र प्रहरी बलको एक टुकडीले अन्तिम सलामी अर्पण गरेपछि बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

यसअघि सरकारका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बौद्धस्थित शेर्पा गुम्बामा पुगेर शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान अर्पण गरेका थिए ।

७२ वर्षीय शेर्पाको सोमबार बिहान १० बजे जोरपाटीमा निधन भएको थियो ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद बैठकले शेर्पाको उपचारमा भएको खर्चसहित किरिया खर्च समेत व्यहोर्ने निर्णय गरेको थियो ।

१५ वर्षको उमेरदेखि नै भरियाका रुपमा पर्वतारोहणको क्षेत्रमा काम शुरु गरेका शेर्पाले १० पटक विना अक्सिजन विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।

अक्सिजनको सहाराबिना सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरी शेर्पाले २ पटक गिजिन बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएका थिए ।

उनी सन् १९८३ मा पहिलोपटक अक्सिजनबिनै सगरमाथाको शिखरमा पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस्