नेपाली भूमि मिचेको विरोधमा चिनियाँ दूतावास अगाडि युवाहरुद्वारा प्रदर्शन

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १२ : १२


काठमाडौं । चीनले नेपाली भूमि मिचेर भवन बनाएको विरोधमा केही युवाहरुले काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि गएर प्रदर्शन गरेका छन् ।

‘सचेत नेपाली’ नामक ‘संगठन’को नाममा ‘ब्याक अफ चाइना’ लेखिएको ब्यानर लिएर युवाहरु बालुवाटारस्थित नेपालका लागि चिनियाँ दूतावास अगाडि धर्ना दिन पुगेका हुन् ।

उनीहरुले ‘सीमा अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूमि फिर्ता गर, चिनियाँ साम्राज्यवाद मुर्दावाद, सीमा नाका खुला गर’ लगायत नारा लेखिएको प्लेकार्ड र ब्यानरसहित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।

करिब २० जनाको संख्यामा जम्मा भएका प्रदर्शनकारीलाई प्रहरीले अहिले त्यहाँबाट हटाइसकेको छ ।

सम्भावित विरोध प्रदर्शनलाई मध्यनजगर गर्दै चिनियाँ दूतावास अगाडि अहिले प्रहरी तैनाथी बढाइएको छ ।

विरोध प्रदर्शनमा सहभागीमध्ये अहिलेसम्म कसैलाई पक्राउ भने नगरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

चीनले हुम्लामा नेपाली भूमि मिचेर भवन निर्माण गरेको विषय सार्वजनिक भएपछि त्यसको नेपालमा विरोध भइरहेको छ ।

विभिन्न सञ्चारमाध्यममा चिनियाँ पक्षले नेपाली भूमि मिचेर भवन निर्माण गरेको विषय सार्वजनिक भएपछि नेपालस्थित चिनियाँ दूतावासले विज्ञप्ती जारी गर्दै उक्त भूमि चीनकै भएको दाबी गरेको छ ।

नेपाल सरकार र पराष्ट्र मन्त्रालयले भने चीनद्वारा नेपाली भूमि मिचिएको विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन ।

सरकारले स्थानीय प्रशासनमार्फत भूमि मिचिएको विषयमा बुझ्न पठाइएको बताएको छ ।

गृह मन्त्रालयको निर्देशन पछि हुम्लाका प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र स्थानीय जनप्रतिनिधिसहितको टोली सीमा मिचिएको क्षेत्रमा स्थलगत अवलोकनका लागि एको थियो ।

तर, त्यहाँ तैनाथ चिनियाँ सुरक्षाकर्मीले भवन बनाएको क्षेत्र आफ्नै भूमि भएको बताउँदै थप वार्ता गर्नुपर्ने भए सीमाबिन्दुमा गर्न सकिने जवाफ दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्