वामदेवत गौतमविरुद्ध परेको रिट सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशमा

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ११ : ३१


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध दायर भएको रिटको सुनुवाईका लागि सर्वोच्च अदालतले आज पेशी तोकेको छ ।

गौतमलाई राष्ट्रियसभा गरिएको मनोनयन र मन्त्री बनाउने तयारीविरुद्ध परेको रिटउपर सुनुवाई गर्न सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशमा पेशी तोकिएको हो ।

अधिवक्ता बद्रीराज भट्ट र दिनेश त्रिपाठीले दायर गरेको अलग अलग रिटउपर सुनुवाईका लागि न्यायाधीश भट्टराईको इजलाशमा पेशी तोकिएको हो ।

गौतमविरुद्धका २ रिटमध्ये अधिवक्ता भट्टले दायर गरेको रिट क्रमसंख्याअनुसार १ र अधिवक्ता त्रिपाठीले दायर गरेको रिट क्रमसंख्याअनुसार २ नम्बरमा राखेर पेशी तोकिएको छ ।

रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र वामदेव गौतमलाई विपक्षी बनाइएको छ । रिटमा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको व्यक्ति उक्त प्रतिनिधिसभाको कार्यकालभरि मन्त्री नियुक्त हुन नसक्ने संविधानको धारा ७८ को उपदधारा (४)को व्यवस्थालाई उल्लेख गर्दै गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने निर्णय बदरभागी भएको दाबी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्