मकवानपुरमा गुडिरहेको जीप र मोटरसाइकल पहिरोमा पुरिए, चालक र यात्रुको अवस्था अज्ञात

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ११ : १६


हेटौंडा । काठमाडौंबाट हेटौंडा आउँदै गरेको एक स्कार्पियो जीप पहिरोमा पुरिएको छ । पहिरोमा एउटा अर्को मोटरसाइकल पनि पुरिएको जानकारी प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कुलेखानी–भीमफेदी सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ देउरालीमा स्कार्पियो जीप पहिरोमा पुरिएको हो ।

मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलकुमारसिंह राठौरले गुडिरहेको बा १७ च ४८७४ नम्बरको जीपलाई पहिरोले पुरेको जानकारी दिए ।

पहिरोमा नम्बर नखुलेको अर्को एउटा मोटरसाइकल पनि पुरिएको जानकारी प्राप्त भएको प्रहरीको भनाइ छ ।

घटनाको विषयमा जानकारी प्राप्त भएपछि प्रहरीको टोली घटनास्थलतर्फ गएको एसपी राठौरले जानकारी दिए ।

जीप ठूला–ठूला ढुङ्गाले च्यापिएको अवस्थामा रहेको र उद्धारमा केही कठिनाइ उत्पन्न भएको एसपी राठौरले बताए । जीपका चालक भीत्रै च्यापिएको अवस्थामा देखिएका एसपी राठौरको भनाइ छ ।

जीपमा अन्य कति जना यात्रु थिए भन्ने विषय खुल्न सकेको छैन । यस्तै, पुरिएको मोटरसाइकल र त्यसमा चालक तथा सवार व्यक्तिको विषयमा पनि केही खुलेको छैन ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको जीप बुधबार बिहान करिब १० बजेतिर पहिरोमा पुरिएको सूचना प्राप्त भएको मकवानपुर प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्