दिवंगत कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  १२ : १५


काठमाडौं । ‘हिमचितुवा’को नामले परिचित कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको निधनप्रति सरकारले दुःख व्यक्त गरेको छ ।

साथै, उनको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय समेत गरेको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले कीर्तिमानी पर्वतारोही शेर्पाको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो ।

साथै, शेर्पाको नाम चिरस्थायी बनाउन राज्यले पहल गर्ने निर्णय समेत मन्त्रिपरिषद बैठकले गरेको छ ।

कीर्तिमानी आरोही शेर्पाको सोमबार बिहान १० बजेतिर काठमाडौंको जोरपाटीस्थित छोरीको निवासमा निधन भएको थियो ।

उनी लामो समयदेखि कलेजो र मस्तिष्कको समस्याबाट ग्रसित थिए ।

१५ वर्षको उमेरदेखि नै भरियाका रुपमा पर्वतारोहणको क्षेत्रमा काम शुरु गरेका शेर्पाले १० पटक विना अक्सिजन विश्वको सर्वाेच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।

अक्सिजनको सहाराबिना सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरी शेर्पाले २ पटक गिजिन बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाएका थिए ।

उनी सन् १९८३ मा पहिलोपटक अक्सिजनबिनै सगरमाथाको शिखरमा पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस्