अमेरिकामा २४ घण्टामा पीसीआरको नतिजा नआउनु लज्जाजनक : बिल गेट्स

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ६ : ०७


काठमाडौं । अमेरिकी धनाढ्य बिल गेट्सले अमेरिकीहरुले पीसीआर परीक्षणको रिपोर्ट २४ घण्टामा अझै पनि प्राप्त गर्न नसक्नु लज्जास्पद रहेको बताएका छन्।

एक टेलिभिजनसँगको कार्यक्रममा बिल गेट्सले अमेरिकामा कोरोना भाइरस ‘कोभिड १९’ को परीक्षण प्रक्रियाको विषयलाई आलोचना गरेका हुन।

अमेरिकीहरूले अझै २४ घण्टामा कोरोनाभाइरस परीक्षणको नतिजा प्राप्त गर्न नसक्नु अपमानजक भएको उनको टिप्पणी छ।

फक्स न्यूजसँगको कुराकानीमा उनले भनेका छन्,‘अमेरिकामा आज पनि कोरोना परीक्षण गराएका व्यक्तिले २४ घण्टाभित्र रिपोर्ट प्राप्त गर्दैनन्, यो लज्जास्पद र अपमानजनक विषय हो।’

गेट्सले नेताहरु र स्वास्थ्य विज्ञहरुले परीक्षणको स्थिति अपर्याप्त छ भनेर सार्वजनिक रूपमा स्वीकार्नु पर्ने र प्रणालीलाई अझ सक्षम बनाउने तरिकाहरू खोज्नुपर्नेमा जोड दिए।

अमेरिकामा सबैभन्दा बढी कोरोना परीक्षण गर्ने मेसिन हुँदा पनि परीक्षणको नतिजा ढिला आउनु कमजोरी भएको र यो माफीयोग्य विषय नभएको गेट्सको टिप्पणी छ।

उनले सो क्रममा आफ्नो द बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले कोरोनाविरुद्धको भ्याक्सिन बनाउने प्रयत्नमा सहयोग पुर्याइरहेको जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस्