नेपालगञ्ज । कोरोना भाइरसको संक्रमण देखिएका सुर्खेतका एक कैदीको उपचारका क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको छ ।
भेरी अस्पतालमा उपचारका क्रममा सुर्खेतको गुर्भाकोट नगरपालिका–४ सहारे घर भएका ५८ वर्षीय पुरुषको सोमबार बिहान ६ः२० बजेतिर मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार मृत्यु भएका पुरुष लामो समयदेखि श्वासप्रश्वास र दमको समस्याबाट ग्रसित थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश अस्पताल सुर्खेत भर्ना भएका उनमा परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो ।
उपचारकै क्रममा अवस्था झन गम्भीर बनेपछि प्रदेश अस्पताल सुर्खेतले उनलाई थप उपचारका लागि भेरी अस्पतालमा रेफर गरेको थियो ।
उनी जिल्ला कारागार सुर्खेतमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।