बेलायतमा सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन बेवास्ता गरे वा तोडे त्यस्ता व्यक्तिलाई १०,००० पाउण्डसम्म(१५ लाख १६ हजारबढी नेपाली रुपैयाँ) जरिवाना हुने भएको छ ।
बेलायत सरकारको नयाँ कानुनी कर्तव्य अन्तर्गत कोरोनाभाइरस सङ्क्रमण देखिएका वा हुने अवस्थामा भएका व्यक्तिले सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ।
नयाँ नियम अन्तर्गत कम आय भएकालाई एकपटक ५०० पाउण्ड सहायता दिनुपर्ने र आइसोलेशनमा बस्न बिदा नदिने रोजगारदातालाई पनि सजाय हुनेछ।
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि प्रधानमन्त्री बोरिस जोनसनले प्रतिबन्धहरू कडा पार्दै गर्दा यी नियमहरू लागु गर्न लागिएको बताएका छन्।
शनिवारमात्रै इङ्गल्यान्डमा कोभिड(१९ का ४,४२२ नयाँ बिरामीहरू थपिएका छन् र सङ्क्रमित २७ जनाको मृत्यु भएको छ।
जरिबाना सुरुमा १,००० पाउण्ड हुनेछ भने दोहोर्याएर नियम तोड्ने र “एकदमै नराम्ररी नियम तोड्ने”लाई १०,००० पाउण्डसम्म हुन सक्नेछ।
त्यहाँ अहिलेसम्म सेल्फ आइसोलेशनमा बस्ने सुझाव केवल निर्देशनका रूपमा मात्रै दिइएको थियो।
इङ्ग्ल्याण्डका लागि नयाँ नियमहरू घोषणा गर्दै प्रधानमन्त्री जोनसनले भाइरससँग लड्ने सबैभन्दा उत्तम उपाय भनेको सबैले नियमको पालना गर्नुभएको बताए।
नियम मान्न बेवास्ता गर्नेहरूले उल्लेख्य जरिबानाको सामना गर्नुपर्ने पनि उनले बताए।
‘जोखिममा रहेका मानिसलाई सङ्क्रमण हुनबाट जोगाउन, एनएचएसको रक्षा गर्न र जीवन बचाउनका लागि भाइरस नियन्त्रण गर्न हामीले गर्न सकिने सबै कुरा गर्नुपर्छ’, उनले भने।
धेरै जरिबाना तिर्नुपर्नेमा आइसोलेशनमा बस्न रोक्ने रोजगारदाताहरू पनि पर्छन्।
कम जोखिम रहेका राष्ट्रको सूचीमा नरहेका देशबाट यूके फर्किनेहरू १४ दिन क्वारन्टीनमा बसेको नपाइए उनीहरूमाथि पनि कानुनी कारबाही हुनेछ।
अहिलेको नियमहरू धेरैजसो तोडिने गरेको र प्रभावकारी कार्यान्वयन नभएकोप्रति प्रधानमन्त्री जोनसन चिन्तित छन्।
अहिले पाँचमध्ये चारजनाले सेल्फ आइसोलेशनमा बस्ने नियम तोड्ने गरेको बताएका छन्।