काठमाडौं । कोरोना महामारीको जोखिम नियन्त्रणका लागि लागू गरिएको लकडाउन र निषेधाज्ञाका कारण ६ महिना यता बन्द रहेको आन्तिरक हवाइ सेवा आजबाट पुनः सुचारु हुने भएको छ ।
सामान्य अवस्थाको तुलनामा २५ प्रतिशत मात्रै उडान गर्न पाइने सरकारको निर्णयअनुरूप नै निजी वायुसेवा कम्पनीहरूले नियमित उडानको सम्पूर्ण तयारी पूरा गरेको बताएका छन् ।
यसअघि असोज १ गतेबाटै आन्तरिक उडान सुरु गर्ने भनिए पनि सरकार र वायुसेवा सञ्चालकहरूबिच पहिले भनिएको आधा मात्र यात्रु बोक्ने बिषयमा कुरा नमिल्दा उडान हुन सकेको थिएन।
नेपाल वायुसेवा सञ्चालक सङ्घका महासचिव मनोज कार्की यात्रुहरू सुरक्षित रूपले उडाउन सक्ने गरि तयारी गरेको बताउँछन् ।
विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओले बनाएका मापदण्ड अनुसार उडान अघि, उडानभर र उडानपछि हुनुपर्ने कामका रूपरेखामा कर्मचारीहरूलाई तालिम दिइसकेको उनले बताए ।
तर अब विमानस्थलमा एकपटकमा बढीमा ३ वटा उडानका यात्रुहरुलाई मात्र लैजाने गरी प्रवन्ध मिलाइएको बताइएको छ।
संघका अनुसार यात्रुको माग र बजारको आवश्यकताका आधारमा उडान संख्या बढाइनेछ । प्राधिकरणले शुरूको १ साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिइएको छ ।
अवस्था हेरेर उडान संख्या वृद्धि गरिने कम्पनीहरूले जानकारी दिएका छन् ।
महामारी नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान प्रतिबन्ध थियो ।
यो बीचमा आन्तरिकतर्फ उद्धार उडान, मेडिकल कार्गो जस्ता उडान मात्रै भएका थिए । अन्तरराष्ट्रिय उडान भने केही शर्तसहित भदौ १६ देखि सञ्चालनमा आएको थियो । सरकारले अन्तरराष्ट्रिय उडानको हकमा असोज १५ पछि आवश्यकताअनुसार थप गर्ने निर्णय गरेको छ ।
आन्तरिक उडानमा केही नयाँ प्रावधानहरू तोकिएको छ
विमानस्थलमा प्रवेश गर्न यात्रुहरुले मास्क र सर्जिकल पञ्जा अनिवार्य लगाएको हुनुपर्ने र ती उडान अवधिभर पनि कायम हुनुपर्ने
विमानस्थलका कर्मचारी र यात्रुबिच सिधा सम्पर्क नहुनेगरी काउन्टरहरूको तय हुनुपर्ने
विमानस्थलमा जहाजसम्म लैजाने गाडीमा भिडभाड नहुनेगरी प्रबन्ध हुनुपर्ने
अत्यावश्यक नपरिकन ७० वर्ष माथिका व्यक्तिहरूलाई विमानमा यात्रा नगर्न आग्रह
विमानभित्र हुने पेयरखाजा जस्ता खानपानका सेवामा हाललाई रोक
विमानभित्र शौचालय प्रयोग नगर्न आग्रह
आवश्यक विवरण रेकर्डका लागि आफ्नै कलमको प्रयोग गर्नुपर्ने
यात्रुले पहिलेजस्तो ह्याण्डलगेज बोक्न नपाउने