हामी कोरोना युद्धमा कहाँ चुक्यौ ?

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


सरकारको जीवन या जीविका भन्ने प्रश्नमा जनताले जीवन रोजे । सरकारलाई दरो साथ दिए । लकडाउनलाई साथ दिए । व्यवसायलाई बन्द गरे । उत्पादनलाई नै बन्द गरे । अवातजवातलाई बन्द गरे । भेटघाटलाई बन्द गरे । आफू थुनिए । आफ्नो इच्छाहरुलाई कुण्ठित गरे । ती तमाम कार्यहरु जीवनको सुनिश्चितताको लागि गरे । तर जीवन सुनिश्चितता भन्दा अनिश्चिततातर्फ धकेलियो । कोरोना नियन्त्रणभन्दा फैलावट भयो । दैनिकी रोकिए । कोरोना रोकिएन ।

अहिले धेरैको जीविका गुम्दैछ । व्यवसाय थला परेको छ । जीविकासङ्गै जीवन गुम्ने अवस्था छ । गरिव र साना तथा मध्यम परिवारहरुले अतुलनीय क्षति भोगेका छन् । गम्भीर असर परेको छ ।

नेपालसँग अहिले विपद जोखिम व्यवस्थापनमा पर्याप्त नीतिनियम छन् । तर, पूर्वतयारी र प्रभावकारी कार्यान्वयनमा धेरै कमजोर छ । राज्यका सबै निकायहरु तथा नागरिक तहमा विपद व्यवस्थापन क्षमता पर्याप्त छैन । तथापि कोरोनासँगको युद्धमा खटिरहनु भएको छ ।

कोरोनाले नेपाललाई पूर्वतयारी गर्ने पर्याप्त मौका दिएकै हो । सीमा जोडिएको देश चीनबाट सारा विश्व घुमेपछि कोरोना नेपाल प्रवेश गरेको हो । छिमेकी राष्ट्र भारतबाट कोरोना आउनेमा दुईमत थिएन । सही पूर्वानुमान भए पनि सही व्यवस्थापन गर्न सकेन । राज्य चुक्यो । लकडाउन प्रभावहीन भयो । साइड इफेक्ट पर्यो । अर्थतन्त्र डुब्यो तर सङ्क्रमण नियन्त्रणमा इफेक्ट गरेन । ठूला शहरहरुमा कोरोना सङ्क्रमणको दर बढे पनि काबु बाहिर गएको छैन । तर ढुक्क हुने अवस्था बिल्कुल छैन ।

नेपालको पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने हालसम्म संक्रमित हुनेको संख्या ६४ हजार १ सय २२ पुगेको छ । निको हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ । कोरोनाबाट ४ सय ११ जनाको मृत्यु भएको अवस्था छ ।

अधिकांश नाकाहरु सिल छन् । कोरोना रोकथाम र नियन्त्रणमा लकडाउन सुचारु छ । तर देशभर डडेलोझै फैलिएको तत्कालीन १० वर्षे माओवादी जनयुद्ध समेत पुग्न नसकेको हिमालपारिका जिल्लाहरुमा कोरोना पुगेको छ । लकडाउनकै बखत शून्य सङ्क्रमित जिल्लाहरुमा सङ्क्रमित देखिए । अझै लकडाउन गर्नुपर्छ भन्ने ? अब नैतिकतामाथि प्रश्न उठिसकेको छ । यथाशीघ्र पुनर्विचार गर्नुपर्ने छ । दोष अरुलाई दिने समय छैन । सबै तह र तप्काबाट सही सहयोग र सतर्कता हुन जरुरी छ । सरकारले सबै अवस्था र परिणामहरुको सुक्ष्म अध्ययन तथा अनुसन्धान गर्नुपर्ने देखिन्छ । नयाँ रणनीति र योजना निर्माण गर्नुपर्ने देखिन्छ । थप जवाफदेहिता हुनु पर्दछ । तपशिलका सवालहरुमा सरकार चुकेको देखिन्छ । तसर्थ, विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

सामाजिक विभेद, गरिवी र आत्महत्या
नेपाली समाजमा रोग लागेमा या बिरामी भएमा सबैको सहानुभूति, सद्भाव र सहयोग हुने गथ्र्यो । तर कोरोना कहरमा ठीक विपरीत भयो । गरीब तथा जोखिममा रहेका परिवारहरु चरम भोक र अभावले जेलिए । तिरस्कार, हेला, घृणा, भेदभाव प्रष्ट देखियो । समाज त आफ्नो रहेन, परिवार नै आफ्नो भएन । अपमान बोध गरिरहेछन् । मानसिक तनाव र पीडा भोग्नु परेको छ । कोरोनाले नेपाली समाजमा रहेको मनावताको जालो च्यातिदिएको छ ।

लकडाउन भएयता हजारौ व्यक्तिहरुले आत्महत्या गरेका छन् । आत्महत्याको शृङ्खला र तथ्याङ्क हेर्ने हो भने कहालीलाग्दो छ । ३ हजार बढीले आत्महत्या गरेका छन् । अधिकांशको कारण गरिवी र सामाजिक विभेदको डर हो । क्वारेन्टाइनमा पनि थुप्रै व्यक्तिहरुले आत्महत्या गरेका छन् । ती मृत्युको कारण भेद्भाव र गरिबी हुन् । सामाजिक विभेदको डर हो । भावी दिनहरुमा सङ्क्रमित भएकै कारण समाजले गर्नसक्ने विभेदको भय हो । राज्यले सरकारी क्वारेन्टाइनहरुमा भएका आत्महत्याहरुको नैतिक जिम्मेवारी लिनु पर्दछ । ती आत्महत्याहरु ख्यालख्याल होइनन् । आत्महत्याको मुख्य कारण लकडाउन हो ।

लकडाउनकै कारणले अकालमै ज्यान गुमाउनु परेको छ । विरामीलाई हस्पिटलहरुले उपचार गर्न नमान्दा अन्य रोगबाट अकालमै धेरैको ज्यान गएको छ । मातृशिशु मृत्युदर बढेको छ । दीर्घरोगीहरुको अवस्था ज्यादै नाजुक छ । मानसिक रोगीहरु वृद्धि भएका छन् । रोगलाई लुकाउनु पर्ने अवस्था आएको छ । जबर्जस्त रोग र पीडा सहनु पर्ने भएको छ ।

भ्रम र त्रासको खेती
रोग या महामारीको त्रास सबैमा हुन्छ । सुन्दर जीवनप्रति सबैलाई माया छ । तर मृत्युको भय मनोवैज्ञानिक तहतिर उन्मुख देखिन्छ । नेपाली समाज अविवेकीय र निष्ठुरी बन्दै गएको छ । भ्रमको जालो कम हुन सकेको छैन । त्रास दिनानुदिन बढिरहेको छ । कोही केही हुँदैन भनेर नजरअन्दाज गर्दैछन् । कोही भरेभोलि मरिदै छ भन्ने त्रासमा छन् ।

नेपाली समाज फोबियातिर उन्मुख छ । डर र त्रासमा भएको व्यक्तिले केही गर्न सक्दैन । डर र त्रासले कमजोरीपन निम्त्याउँछ । कमजोरीपनले प्रतिरक्षा शक्ति वृद्धि गर्न सक्दैन । कोरोनासँग लड्न सक्दैन । तसर्थ, सरकारले नागरिकलाई भयमुक्त बनाउनु पर्दछ । तर सरकारी संयन्त्रहरु भयमुक्त बनाउने कार्यमा चुके ।

महामारीमा पनि भ्रष्टाचारको गन्ध
विपदमा सुशासनको अहम् भूमिका हुन्छ । विपदको बेलामा सुशासन भएन भने एकता र विश्वास टुट्छ । जब विश्वास र एकता टुट्छ, सङ्कटसँगको युद्ध कमजोर हुन्छ । अनिश्चितता र अस्थिरताले स्थान पाउँछ । मनपरी बढ्छ । विपदको बेला उल्लेख्य स्रोत र साधनको प्रयोग हुन्छ । ती स्रोत र साधनमा अनियमितता र भ्रष्टाचार हुनसक्ने सम्भावना धेरै हुन्छ । कोरोनासँगको युद्धमा केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचार र अनियमितताको गन्ध देखा पर्यो । स्वास्थ्य सामग्री आपूर्तिमा भ्रष्टाचारको कुरा आयो । एकथान तकिया खोलको मूल्य रु २८ सय ७६ र १ थान तन्नाको मूल्य रु ८ हजार ७१ देखियो । यस्तो परिस्थितिमा आम नागरिकहरु राज्यप्रति विश्वास र उत्तरदायी हुँदैनन् ।

१९९० को महाभूकम्पमा जुद्धशमशेरको उही भ्रष्टाचारको कुरा आयो भने, मेरो कहाँ नल्याउनू, ५ जना मिली बाटोमै काट्नू भन्ने थियो । राणा शासकले जति पनि हैसियत राख्न सकेनन् । अवसरवादी भ्रष्ट दलाल प्रक्रिया र प्रवृत्तिलाई निर्मूल पार्ने मौका थियो । जनताको अपार साथ समर्थन हुन्थ्यो । राज्यको नेतृत्व चुक्यो ।

दलाल पूँजीवादीलाई अवसर
कोरोना नियन्त्रणको नाममा करोडौ रुपैयाँको सामग्री खरिद भयो । अधिकांश खरिद प्रक्रियाहरुमा दलाल तथा बिचौलियाहरुको बिगबिगी केन्द्रदेखि स्थानीय तहसम्म देखियो । एउटा मध्यम खालको नगरपालिकामा साबुन, सेनिटाइजर, पन्जा, मास्क खरिद मात्र गर्दा १ करोड बढी खर्च देखिएको छ । अन्य व्यवस्थापनमा करोडौं खर्च भएको छ । यसले दलाल पूँजीवादलाई उल्लेख्य फाइदा पुगेको छ । दलाल पूँजीवादीहरुलाई राम्रो अवसर सिर्जना भएको छ । मानवीय सङ्कटको बेला ब्रम्हलुट गर्ने र कालोबजारी गर्नेहरुलाई मौका मिल्यो । पूँजीवादभित्रका गलत प्रवृत्तिलाई रोक्न सरकार असफल भयो ।

गैरजिम्मेवार राजनीति
कोरोना शुरु हुँदै गरेको बेला प्रधानमन्त्री बिरामी भए । दोस्रोपटक किड्नी प्रत्यारोपण गर्न टिचिङ हस्पिटल भर्ना भए । हप्ता दिनपछि अदभूत रुपले पुनः काममा फर्किए । जब प्रधानमन्त्रीले काम सुरु गर्न थाले, सत्तारुढ पार्टीमा कलह सुरु भयो । जुन कलहले गर्दा अहिले देशले मूल्य चुकाउँदै छ । कोरोना नियन्त्रणमा नीतिनियम निर्माण तथा प्रभावकारी कार्यान्वयनमा लाग्नुको सट्टा सत्ता भागभण्डा, पद शक्तिको लेनदेन, व्यक्तिगत इगोमा चुर्लुम्म डुबेको पाइयो । जसले गर्दा कोरोना नियन्त्रण तथा समाधानको लागि विकल्प निर्माण गर्ने तथा योजना तयार गर्ने समय भएन । कोरोना युद्धको चिन्तन र समीक्षाले प्राथमिकता पाएन । मूल राजनीति नै धमिलो तथा गैरजिम्मेवार देखिएपछि तल्लो निकायहरुमा अन्यौल र अस्थिरता प्रस्ट देखियो ।

कोरोनालाई नेपाली राजनीतिभित्रको आन्तरिक द्वन्द्वले छायाँमा पार्यो । सत्तापक्षको आन्तरिक द्वन्द्वले कोरोनासँगको युद्ध फितलो बनायो । प्रतिपक्षलाई अधिवेशनले छोपेको छ । यी तमाम घटनाहरुको इतिहासले कुनै बेला निर्मम समीक्षा गर्नेछ ।

सद्भाव, एकता र भाइचारा
देशको मूल राजनीति स्थिर नहुँदा जनता ढुक्क हुन सक्ने रहेनछ । आशा र भरोसा नहुने रहेछ । निराशा र नैराश्यता बढ्ने रहेछ । गलत नजिरको छिटो र गहिरो प्रभाव पर्ने रहेछ । स्वार्थीपना फैलिदो रहेछ । हुनेखाने वर्गले नीतिनियम र विधि प्रक्रियालाई शक्तिको आडमा उलङ्घन गरेको पाइयो । अति गरिब र मजदुर वर्गलाई पेटको लागि जबर्जस्ती बाहिर निस्कनु परेको छ । बाहिर निस्कँदैमा जीविका सहज छैन । निमुखा जनता आफ्नो समय र भाग्यलाई दोष मात्र दिए । निरीह रहे तर कसैलाई दोष दिएनन् । तिरस्कार सहे । अपमान सहे ।

हुनेखाने वर्ग र हुँदा खाने वर्गबीच समधुर सम्भावना निर्माण गर्ने मौका थियो । हुने वर्गले नहुने वर्गको लागि आर्थिक सामाजिक सहयोग गर्ने अवसर सिर्जना गर्नु पथ्र्यो । कोही आनन्दले विशाल घरमा छन् । अति गरिब र जोखिममा रहेकाहरु एक छाक खानाको लागि खुलामञ्चमा जम्मा हुँदैछन् ।

एक छाक खाना खुवाउने हैसियतमा धेरै नेपाली परिवारहरु छन् । सरकारले माहोल निर्माण गर्न सकेन । राष्ट्रिय संकल्प विकास गर्नु पथ्र्यो । उदाहरणका लागि अधिकृतस्तरदेखि माथिका सबै सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारीहरुको तलब र पेन्सनको ३० प्रतिशत अति गरीब र जोखिममा रहेकाहरुलाई आर्थिक भौतिक सहयोग गर्ने वातावरण निर्माण गर्न सकिन्थ्यो । जसले आपसी सद्भाव र भाइचारा विकास गराउँथ्यो । एकता मजबुत बनाउँथ्यो । तसर्थ, सरकार कोरोना विरुद्धको राष्ट्रिय अभियान निर्माणमा चुक्यो ।

लज्जाको विषय काठमाडौमा स्वास्थ्यकर्मी बसेको घर स्थानीयहरुले घेरा हाली नारा जुलुस गरे । सरकार मुकदर्शक बन्यो । त्यस्तै भक्तपुर नगरपालिकामा वडाध्यक्षको नेतृत्वमा सङ्क्रमित व्यक्तिको परिवारलाई घरभित्र थुनी ताला लगाइयो । यी हर्कतहरु हेपाहा प्रवृत्ति हुन् । राज्यले के कारबाही गर्यो ? ताकि स्वास्थ्यकर्मीको मनोबल बढ्यो या सामाजिक विभेदलाई निस्तेज गर्यो । तर, सरकार केही कारबाही नगरी निरीह भयो ।

अन्तमा कोरोनाद्वारा देशलाई पुगेको क्षति र सङ्कटप्रति गम्भीर बनौं । कोरोनालाई सामान्य नठानौ । हेलचेक्राई नगरौ । सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरौं । थप जिम्मेवार र सशक्त बन्नुपर्ने देखिन्छ । आवश्यक भए राष्ट्रिय सङ्कट नै घोषणा गरौं । सबैलाई सहयोगको अपिल तथा अनिवार्य गरौं । देश गम्भीर अवस्था पुगेको छैन भने देशले क्षति व्यहोर्ने र नागरिकले दुःख पाउने हरेक गतिविधि बन्द गर्नु पर्दछ । कोरोना नियन्त्रणमा वैज्ञानिक तथा न्यायोचित विकल्पहरु खोजी गरिनु पर्दछ ।

आम नागरिकको तहबाट अधिकतम सचेत, सजग र जिम्मेवार हुनुपर्ने देखिन्छ । हालको विषम परिस्थितिमा हामी सबैलाई निराशा, विचलित र गैरजिम्मेवार बन्ने छुट छैन ।


प्रतिक्रिया दिनुहोस्