काठमाडौं । दुई ठूला वामपन्थी पार्टी एकीकरण भएर नेकपा गठन भएपछि पहिलोपटक पूर्व माओवादीको कार्यालय रहेको पेरिसडाँडामा सचिबालय बैठक बसेको छ ।
बैठकमा मन्त्रिपरिषद् पुनर्गठन लगायका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसअघि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बस्दै आएको बैठक आज पहिलो पटक पेरिसडाँडामा बसेको थियो ।
अध्यक्ष प्रचण्डले कार्यकारी भूमिका पाएपछि बैठक पेरिसडाँडामा गरिएको हो ।
केही समययता सुनसान झै बनेको पेरिसडाँडा पार्टी कार्यालयमा आज चहलपहल देखिएको थियो ।
बैठकमा कुर्सी र टेबलको व्यवस्थापन समान रुपमा गरिएको थियो ।
११ बजेका लागि निर्धारण गरिएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली केही ढिला गरि पुगेपछि बैठक तोकिएको समयभन्दा केहीबेर पछि शुरु भएको थियो ।
कार्यालयमा बैठक स्थल सबैभन्दा माथिल्लो तलामा रहेका कारण प्रधानमन्त्री ओलीलाई बैठक कक्षसम्म पुग्न असहज भएको थियो ।
प्रधानमन्त्री ओलीलाई उनको सुरक्षामा खटिएका पीएसओहरुले हात समाएर झर्याङ चढाएका थिए ।