ताइवानमाथि कब्जाको पूर्व अभ्यास चलिरहेको छ : गोल्बल टाइम्स

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ५ : ५८


एजेन्सी । ताइवानको रक्षा मन्त्रालयले शनिवार चीनका १८ विमान आफ्नो एयर डिफेन्स आइडिन्टिफिकेशन जोनमा घुसेको जनाएको छ।

यी विमान मध्ये केहीले ताइवान स्ट्रेट मिडलाइन पार गरेका थिए।

ताइवानले लगातार दोस्रो दिन चिनियाँ विमान आफ्नो सिमा भित्र घुस्न प्रयास गरेको आरोप लगाएको छ।

ताइवानको रक्षा मन्त्रालयका अनुसार यसअघि शुक्रवार पनि यस्तै भएको थियो।

ताइवानी मन्त्रालयले एक विज्ञप्ति मार्फत चीनका १२ जे-१६ फाइटर विमान, दुई जे-१० लडाकु विमान, दुई एच-6 बमवर्षक र एक वाई 8 ASW पनडुब्बी विमान घुसपैठमा सामेल रहेको जनाएको छ।

ताइवानको रक्षा मन्त्रालयले यस घटनासँग सम्बन्धी सार्वजनिक गरेको नक्सा अनुसार कुनै पनि विमान मेन ताइवानको नजिक वा माथि उडन् सकेनन्।

मन्त्रालयले ट्वीटमा भनेका छ, ‘रिपब्लिक चाइना एयरफोर्सले लडाकू विमान उतार्यो र गतिविधिको निगरानीको लागि एयर डिफेन्स मिसाइल सिस्टम तैनाथ गरेको थियो।’

यसैबीच, चीनको सरकारी अखबार गोल्बल टाइम्सले ताइवानमाथि कब्जा गर्न पूर्व अभ्यास भइरहेको जनाएको छ।

चिनियाँ सरकारले चलाएको उक्त अखबारले शनिबार लेखेको छ ‘शुक्रबारको ड्रिल ताईवानमािथ कब्जा गर्नको लागि एक पूर्वाभ्यास थियो।’

उक्त अखबारले लेखेको छ, ‘अमेरिका र ताइवानले परिस्थितिलाई गलत हिसाबले लिनु हुँदैन। यदि उनीहरूले भड्काउने काम गरिरहे निश्चित रूपमा युद्ध हुनेछ।’

ताइवानका प्रमुख विपक्षी दलका नेता जोनी चियांगले फेसबुकमा दुबै पक्षले वार्ता मार्फ समाधान खोज्नुपर्ने बताएका छन्। ताकि युद्धको अवस्थालाई रोक्न सकियोस्।

चीनले ताइवानलाई आफ्नै देशको हिस्सा भएको बताउँदै आएको छ। तर, ताइवान भने आफूलाई एक स्वतन्त्र देश ठान्छ। हालैका दिनमा ताइवानमा बढ्दो अमेरिकी प्रभावबारे चीन रुष्ट छ।

दुई देशबीच तनाव बढेको जस्तो देखिएपनि ताइवानमा जीवन सामान्य छ। कुनै आन्दोलन छैन। विज्ञहरू भन्छन्, ‘ताइवान जे भए पनि चीनको धम्कीको बानी परिसकेको छ।’

 

 


प्रतिक्रिया दिनुहोस्