भारतमा चीनको जासुसी गरेको आरोपमा एक नेपाली पक्राउ

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ५ : १३


काठमाडौं । भारतमा चीनलाई सूचना दिन सहयोग गरेको आरोपमा एक नेपाली पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतीय प्रहरीले नयाँ दिल्लीमा राजीव शर्मा नामका एक जना पत्रकार सहित ३ जनालाई पक्राउ गरेको जनाएको छ।

शर्मा सहित चिनियाँ महिला चिङ सी र उनका नेपाली सहयोगी शेर सिंह पनि पक्राउ परेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

भारतको राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयका सूचना ठूलो रकम लिएर चिनियाँ पक्षलाई दिएको आरोपमा उनीहरु पक्राउ परेका हुन।

स्वतन्त्र पत्रकार बताउने शर्मालाई सूचना उपलब्ध गराएबापत ठूलो मात्रामा रकम दिने क्रममा चिनियाँ महिला चिङ सी र उनका नेपाली सहयोगी शेर सिंह पनि पक्राउ परेको इन्डियन एक्सप्रेसले जनाएको छ। पक्राउ परेका सिंह नेपाली रहेको बताइए पनि उनीबारे विस्तृत खुलेको छैन।

दिल्ली प्रहरीले दिएको जानकारी अनुसार सुरक्षा रणनीतिका विषयमा लेख्ने पत्रकार राजीव शर्माले चिनियाँ गुप्तचरहरुलाई भारतको राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना दिए बापत् मोटो रकम प्राप्त गर्दै थिए।

नेपाली नागरिक सिंह शर्मालाई पैसा दिने जिम्मेवारी पाएकी चिनियाँ महिलाको सहयोगी रहेको प्रहरीले दाबी गरेको इन्डियन एक्सप्रेसले जनाएको छ। उनीहरुको साथबाट धेरैवटा ल्यापटप, मोबाइल फोनहरु बरामद गरिएको बताइएको छ।

शुक्रबार बेलुका भारतीय प्रहरीले पत्रकार राजीव शर्मालाई चीनको लागि जासुसी गरेको अभियोगमा पक्राउ गरिएको बताएको थियो।

पुलिसले तीनै जना विरुद्ध आधिकारिक गोपनीयता सम्बन्धी कानुन अनुसार मुद्दा दर्ता गरेको दिल्ली पुलिसको विशेष सेलका डिसीपी संजीव कुमार यादवले बताएका छन्।

एक चिनियाँ महिला र उनका नेपाली सहयोगीलाई उनी उनलाई ठूलो रकम दिएको पाइएपछि पक्राउ गरिएको छ।


प्रतिक्रिया दिनुहोस्