आज ५ औं संविधान दिवस, अर्थात संविधान कार्यान्वयनमा आएको ५ औं बर्ष पूरा भएको दिन। आजकै दिन मुलुकमा २०७२ असोज ३ गते नयाँ संविधान जारी भएको थियो।
संविधान जारी भएको दिनको अवसरमा सरकारी तवरबाट सीमित कार्यक्रम आयोजना गरिएको छ।
सबै नेपालीलाई घरघरमा दीपावली गर्न आग्रह गरिएपनि यसपटक माहौल अलि फरक छ।
कोरोना कहरका बीच नागरिकहरू रोग र भोग सँग संघर्ष गरिरहेका छन्।
हरेक बर्ष सरकारले संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दै आइरहेको छ। आज पनि सोही कार्यक्रमलाई निरन्तरता दिइयो।
संविधान दिवसका अवसरमा आयोजित समारोहमा हेलिकप्टरबाट पुष्पवृष्टि भइरहँदा र प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गरिरहँदा, नजिकै रहेको खुलामञ्चमा भोकाएका सयौँ मानिस थाल बोकेर बसिरहेका थिए।
यही दृश्यले नै आजको देशको अवस्था र व्यवस्थाको सप्रसंग व्याख्या गरेको छ।
यसपालिको संविधान दिवस pic.twitter.com/2pMxr6imkz
— Monika Malla (@malla_monika) September 19, 2020
सात दशक लामो संघर्षपछि आफ्नै जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधान जारी हुँदा सबैमा खुसियाली थियो।
मुलुकमा संविधान जारी भएपछि सबै क्षेत्रले फड्को मार्ने विश्वास लिइएको थियो। तर, आज फेरि निराशा बढ्दै गएको छ। हरेक क्षेत्र यसबाट अछुतो छैन।
संविधानले ग्यारेण्टी गरेका सामान्य भन्दा सामान्य अधिकार समेत नागरिकले प्रत्याभूत गर्न सकेका छैनन्।
सुत्केरी खान नपाएर मृत्युवरण गर्न बाध्य भएका घटना हुन या उपचारको खर्च तिर्न नसकेर अस्पतालको छतबाट हाम फालेर ज्यान लिने युवक, यी आजका द्योतक हुन।
कलाकार श्री कृष्ण सिंखडा यो व्यवस्था र संविधान भुत्ते बन्दै गइरहेको भन्दै समीक्षा हुनुपर्ने बेला आएको बताउँछन्।
गणतन्त्रको अग्रमोर्चामा आवद्ध भएका उनी राज्य सञ्चालकहरुमा सुधार नआए आम नागरिकको अवस्था अझ जटिल बन्ने टिप्पणी गर्छन। समयमै बिग्रेको राजनीतिलाई करेक्सन गरेर मात्रै अगाडि बढ्नु पर्ने उनले बताए।
यस्तो छ उनको बुझाई
‘मुलुकमा संविधान निर्माण भइसकेपछि जनताका अधिकारका धेरै कुराहरु सुनिश्चित हुनु पर्ने हो।
लोकतन्त्र गणतन्त्र प्रजातन्त्र भनेको अधिकारका लागि मात्रै होइन् अधिकारसहित उनीहरूको जनजिविकाको सवालमा कतिको परिवर्तन आयो, परिवर्तन भयो की भएन भन्ने कुराको समीक्षा गर्नु आजको दिनमा आवश्यक छ। २०७२ सालमा आएको भूकम्प, त्यसपछि अहिले कोरोना महामारीको कारण विश्व आक्रान्त छ, हामी झनै त्रस्त भइरहेका छौं।
आवश्यक मात्रामा मेडिकल सामग्री हामीसँग छैन। फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैलाई यतिखेर, धेरै अफ्ठेरो स्थिति सिर्जना भएको छ। मजदुरहरूको चुलो निभेको छ। सुत्केरी हुन लागेकी महिला, सुत्केरी महिला जसले एक छाक खाना खान नपाएर मृत्युवरण गर्नुपरेको समाचार सुनिरहेका छौं। अस्पतालमा गएका युवक उपचार गर्न नसकेर अस्पतालको ३/४ तलामाथिबाट हाम फालेर ज्यान लिएका समाचार हामीले सुनिरहेका छौं। आजको दिनमा हामीले यस्ता यावत घटनाहरू देखिरहेका छौं।
त्यसैले जनतालाई अधिकारको साथसाथमा उनीहरूको जिविका पार्जनको सवालमा हामी कतिको गम्भीर भयौं या भएनौं भन्ने प्रश्न खडा भएको छ। जब नेपालमा २/४ जना मात्र संक्रमित भेटिएका थिए मजदुरहरु एक ठाँउबाट अर्को ठाँउमा जान १५/१६ दिनसम्म जंगलको बाटो तय गर्दै खाली खुट्टा हिँडे।
सुत्केरीहरु, वृद्धवृद्धाहरु, बालबालिकाहरु, घाइतेहरु र बिरामीहरु त्यसरी आफ्नो गाँउ गएको दिनहरु हामीले देख्यौं।
यसमानेमा म सबै राज्य संञ्चालनको तहमा रहनुभएकाहरुसँग अपील गर्न चाहन्छु, के हामीले खोजेको गणतन्त्र यही हो? के हामीले खोजेको प्रजातन्त्र यही हो? के हामीले ल्याएको लोकतन्त्र यही हो?
यो लोकतन्त्र केका लागि थियो? यस्तै गर्नको लागि? रातारात चोरबाटोबाट अनेक अवैधानिक कामहरु भएका छन्। र कतिले वैधानिक धरातलमा टेक्दै, वैधानिक गुण्डा जस्तै जसरी आफ्ना गतिविधिहरु सञ्चालन गरेका छन्। यसले जनतामा निराशा छाएको छ। यो निराशा भयावह अवस्थामा छ।
हामी सबै नेपाली सचेत हुन अहिलेको आवश्यकता छ। र यो गणतन्त्र, लोकतन्त्र र यो प्रजातन्त्रको सवालमा जो राजनीतिक ठाँउमा पुगे नेतृत्व सम्हाले, जसले अवसर प्राप्त गरे तिनिहरुले खासै जनतालाई न्याय गरेनन्, धोखा दिइरहेका छन्। सायद उनीहरुले जति राज्यबाट लुटेका छन् यी सबै लुटेका धनलाई जफत गरेर राज्य कोषमा लिएर जनताको यावत समस्या समाधानका लागि निम्ती त्यो खर्च गर्ने, त्यो पैसा चलाउने दिन हामी खोजिरहेका छौं। र अहिले लुट्नेहरु, जो अनियमित ढंगबाट वैधानिक धरातल छ भन्दै वैधानिक गुण्डा भए जसरी जुन प्रकारको गतिविध सञ्चालन गरिरहेका छन्।
तिनिहरुलाई चाँडेनै कानुनको कठघरामा लिएर आइ म जनतालाई कानुनको प्रत्याभुति गराउने सवालमा हामी सफल हुनैपर्छ। यही प्रतिबद्धताका साथ नयाँ दिनको सुरुवात हुनेछ भन्ने आह्वानका साथ जागरुक रहन आग्रह गर्दछु।’