चुनाव हारेका गौतमलाई राष्ट्रिय सभा सांसद बनाइएको भन्दै साझा पार्टीको आपत्ति

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ११ : ४९


काठमाडौं । साझा पार्टीले प्रतिनिधि सभा चुनावमा पराजित नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसद बनाइएकोमा आपत्ति जनाएको छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै साझा पार्टीले चुनावमा पराजित भएका व्यक्तिलाई राष्ट्रिय सभामा मनोनीत गरिएकोमा आपत्ति जनाएको हो ।

राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका, आमरूपमा भ्रष्टाचारका गम्भीर आरोपहरू लागेका, गरिब जनताको नाममा ‘कम्युनिष्ट’ राजनीति गरेर आफ्नो जीवन आलिशान बनाएका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना भएको विज्ञप्तिमा जनाइएको छ ।

‘यो आम नागरिकको अपेक्षामाथिको ठाडो उपहास हो। लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार हो। यसबाट भ्रष्ट, अनैतिक, अनुदार र तानाशाही उन्मुख सरकारले जनतालाई पुनः एक पटक “तिमी कराउँदै गर, हामीलाई केही फरक पर्दैन” भन्ने हठी सन्देश दिएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘संविधानको संरक्षक राष्ट्रपतिले यस तथ्यमाथि आँखा चिम्लिएर राष्ट्रिय सभाको गरिमा थप खस्काउने कदमलाई ठाडै सदर गर्नु त्यत्तिकै विडम्वनापूर्ण विषय हो।’

संविधानको धारा ७८ को उपधारा ४ ले प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिलाई मन्त्री बन्न रोक लगाएको अवस्थामा चर्चामा रहेजस्तो अनेक छिद्र खोजेर गौतमलाई मन्त्रीमण्डलमा नलैजान साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ।

गत प्रतिनिधि सभा चुनावमा बर्दिया १ बाट पराजित भएका गौतमले बिहीबार राष्ट्रिय सभा सदस्यको सपथ लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्