तीनधारे झरनामा युवायुवतीको मस्ती (फोटोफिचर)

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ४ : ४०


काभ्रे (रोशी) – जिल्लाको रोशी गाउँपालिका वडा नम्बर २ काफल डाँडामा रहेको तीनधारे झरना यतिबेला चर्चामा रहेको छ भने आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ ।

विशेषगरी ग्रामिण क्षेत्रको प्राकृतिक सुन्दरता अवलोकन गर्दै तीन धारे झरनामा पुग्न सकिने भएकोले मनोरम दृश्यावलोकनका लागि मानिसहरु यस ठाउँमा पुग्दछन् ।

महाभारत लेकबाट तीन वटा धारा झरेकाले तीन धारे झरना भनिएको वडा अध्यक्ष पोते लामाले जानकारी दिए । लकडाउनअघि सम्म मानिसको खासै चहलपहल नहुने यस ठाउँमा अहिले भने झरना अवलोकनका लागि दैनिक ४/५ सयको संख्यामा मानिसहरु आउने गरेको वडा अध्यक्ष लामाले बताए ।

झरना पुग्न के गर्ने ?

झरना भएको ठाउँमा पुग्न धुलिखेल–नमोबुद्ध–दाप्चा–पिपलटार–गहते–फलामेसाँघु–नारायणटार हुँदै काफलडाँडा जान सकिन्छ ।

अर्को रुट धुलिखेल–भकुण्डे–दाप्चा डराउनेपाखरी–पिपलटार, फलामेसाँघु–नारायणटार–काफलडाँडा हुँदै झरना पुग्न सकिन्छ । त्यस्तै कटुञ्जे चौकी डाँडा–पोटा खोला–सिसाखानी–महादेवटार–शिखरआम्बोटे–नारायणटार– काफलडाँडा जान सकिन्छ ।

किलोमिटरको हिसाबमा धुलिखेलबाट भकुण्डे २१ किलोमिटर, भकुण्डेबाट फलामेसाँघु १५ किलोमिटर, फलामेसाँघुबाट काफलडाँडा ९ किलोमिटर र त्यहाँबाट झरना पुग्न १ घन्टा करिब पैदल हिँड्नुपर्छ ।

धुलिखेल नमोबुद्ध हुँदै जाँदा काभ्रेभञ्याङसम्म पिच छ भने बाँकी सबै कच्ची छ । भकुण्डे हुँदै जाँदा भकुण्डेबाट कच्ची सडकको यात्रा गर्नुपर्छ । तर कच्चीबाटोमा यात्रा गर्नुपरे पनि मनमोहक दृष्य र प्राकृतिक सुरन्दरता सबैको मानसपटलमा ताजा हुने हुँदा यात्रा सहजै तीनधारा झरनासम्म गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्