आफ्नै कार्यकर्तालाई विप्लव नेकपाले प्रहरी लगाएर पक्राउ गर्यो!

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  १ : ३५


काठमाडौं । विप्लव नेतृत्वको नेकपा कास्कीले चन्दा माग्ने कार्यमा संलग्न २ युवालाई प्रहरीसँगको सहकार्यमा नियन्त्रणमा लिएको छ।

विप्लव नेकपाको कार्यकर्ता हुँ भन्दै व्यवसायीसँग चन्दा माग्ने अर्जुन राउत र रामकुमार डीसीलाई पोखराको हल्लनचोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

उक्त कार्य प्रहरी सँगको आफ्नो संयुक्त सहकार्यमा गरिएको नेकपाले जनाएको छ।

पोखरा भद्रकाली मार्गमा रहेको एक खाद्यान्न पसलमा विगत लामो समयदेखि धम्की दिँदै आफू विप्लव नेकपाका कार्यकर्ता हुँ भन्दै मोटो रकम माग गरेको बताइएको छ।

पसले विशाल थापाले नेकपा कास्कीसँग यस्तो सूचना आएको बताएपछि नेकपा कास्कीले छानबिन अघि बढाएको थियो।

नेकपा कास्कीले गलत कार्य गर्ने लाई नियन्त्रणमा लिन सूचनापछि जिल्ला प्रहरी कास्कीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका राउत र डीसीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा लगेर थप अनुसन्धान हुने बताइएको छ।

उनीहरूले व्यवसायी थापासँग दुई लाख नगद माग गरेको रसिदसमेत भेटिएको समाचारमा जनाइएको छ।

विप्लव नेकपाले चन्दा माग्ने पक्राउ परेको जनाएपनि उनीहरु दुवै जना सोही पार्टीकै नेता रहेको खुलेको छ।

स्रोतका अनुसार पक्राउ परेका अर्जुन राउत सोही पार्टीको काठमाण्डौ उपत्यका बिशेष ब्युरो सदस्य हुन भने डिसी काठमाण्डौकै ग्रामिण आदर्श बहुमुखी क्याम्पस इकाई कमिटि अध्यक्ष हुन।

हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस्