तीनकुनेको तरकारी बजारबाट लुकाएर राखिएको ४२ बोरा प्याज बरामद

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ११ : ०७


काठमाडौं । काठमाडौंको तीनकुनेस्थित तरकारी बजारबाट ४२ बोरा प्याज बरामद भएको छ ।

काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनका क्रममा व्यापारीले लुकाएर राखिएको ४२ बोरा प्याज बरामद गरिएको हो ।

बरामद गरिएको प्याज प्रहरीको जिम्मा लगाइएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

हरित कृषि सहकारी संस्थाले सञ्चालन गरेको तरकारी बजारमा प्याज लुकाएर राखी बढी मूल्यमा बिक्री गरेको पाइएपछि बरामद गरिएको हो ।

कृषि बजारका व्यापारीहरुले होलसेल मूल्यभन्दै ७० रुपैयाँदेखि १०० र खुद्रा मूल्य भन्दै १५० रुपैयाँ बिक्री गर्ने गरेको गुनासो आएपछि महानगरपालिकाले अनुगमन गरेको थियो ।

अनुगमन समितिले शलिकराम दुलालले सञ्चालन गरेको दुलाल आलु भण्डार, ज्योतिनाथ तुलाधरले सञ्चालन गरेको उलक सब्जी भण्डार र बिजेश गौतमले सञ्चालन गरेको दर्ता हुन बाँकी होलसेल पसलबाट प्याज बरामद गरेको हो ।

उलक सब्जी भण्डारमा आलुका बोराले छोपेर राखेको अवस्थामा प्याज भेटिएको महानगरपालिकाको अनुमगमन टोलीले जानकारी दिएको छ ।

अनुगमन समितिले दर्ता नभएका तथा उपभोक्तामाथि ठगी गर्ने ३ वटै पसलको कारोबार रोक्का गरेको छ । शलिकराम दुलालले सञ्चालन गरेको दुलाल आलु भण्डार, ज्योतिनाथ तुलाधरले सञ्चालन गरेको उलक सब्जी भण्डार र बिजेश गौतमले सञ्चालन गरेको होलसेल पसलको कारोबार रोक्का गरिएको हो । उनीहरुले वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागबाट अनुमति नलिएसम्म कारोबार गर्न पाउने छैनन् ।

अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, स्थानीय प्रहरी, नगर प्रहरी र उपभोक्ता अधिकार अनुसन्धान मञ्चका प्रतिनिधि सहभागी थिए ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालका व्यवसायीहरुले आफूसँग भएको प्याज लुकाएर कृत्रिम अभाव सिर्जना गर्न खोजेका छन् ।


प्रतिक्रिया दिनुहोस्