भाेलि नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन एजेन्डा

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ८ : ४९


काठमाडौं । भाेलि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ ।

स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान सचिवालयको बैठक बस्ने भएको हो ।

तत्कालीन माओवादी केन्द्रको केन्द्रिय कार्यालय रहेको पेरिस डाँडामा बैठक बस्न सक्ने बुझिएकाे छ ।

बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलपछि भोलिका लागि बैठक तय गरिएको हो ।

भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले सरकार, पार्टी संगठन, महाधिवेशन, सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), अध्यक्षद्वयको कार्यविभाजन, कोरोना नियन्त्रण तथा रोकथामलगायतका विषयमा निर्णय गरेको थियो ।

स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजाने विषयमा सचिवालयमा छलफल हुने बताइएकाे छ ।

देशको समसामयिक विषय तथा सरकारले गर्ने विभिन्न नियुक्तिका बारेमा नेकपाले आज प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग पनि छलफल गर्ने तयारी गरेको बताइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्