बार अनुसार पसल खोल्ने व्यवस्था हट्यो

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ८ : १३


काठमाडौं । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले बार अनुसार पसल खोल्ने निर्णय अर्को आदेश नहुन्जेल सम्मका लागि फिर्ता लिएका छन्।

चाडपर्व नजिकिएसँगै उपत्यकाका प्रशासन केही लचक देखिएका छन्।

भोलिबाट लागू हुनेगरि बार अनुसार पसल खोल्न पाइने व्यवस्था हटाइएको काठमाडौंका सिडिओ जनकप्रसाद दाहालले जानकारी दिए।

उपत्यकामा निषेधाज्ञाको समय आजराति १२ बजे पछि सकिँदैछ। अब लगभग निषेधाज्ञा हटेको छ।

त्यसको पूर्वसन्ध्यामा काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले विभिन्न निर्णय गरेको हो।

जसमा बार व्यवस्था हटाइएको छ भने होटल तथा रेष्टुरेन्टलाई पूर्ण सञ्चालनका लागि अनुमति दिइएको छ।

कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक पसलमा लगाइएको समय पनि हटेको छ। सपिङ मलहरू पनि पूर्ण रुपमा खुल्नेछन्। यसअघि अत्यावश्यक सेवामध्ये खाद्यवस्तु, दुध, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछारमासु बिक्री वितरणमा समय तोकिएकोमा सो पनि हटेको छ।

यसअिघ भदौ २४ गते निषेधाज्ञा खुकुलो पार्दै प्रशासनले केही क्षेत्रलाई बन्देज लगाएर धेरैजसो क्षेत्रमा निषेधाज्ञा खुलाएको थियो।

दाहालका अनुसार उपत्यकाका सबै नाका खुला पारिएको छ।

नाकाबाट आवतजावत गर्दा हुने स्वास्थ्य जोखिमबारे अब सर्वसाधारण स्वयम् जिम्मेवार हुनुपर्ने छ।

 

 


प्रतिक्रिया दिनुहोस्