कोरोनासँग लड्न जसले राष्ट्रपति र प्रधानमन्त्रीसहित ५ हजारलाई निःशुल्क बाँडे गुर्जो

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


काठमाडौं । डा उज्ज्वल न्यौपाने काठमाडौं मेडिकल कलेजमा प्रशिक्षार्थी चिकित्सकका रुपमा कार्यरत छन् ।

अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका डा न्यौपाने सोमबार डिउटीमा जान सकेनन् । कारण थियो ज्वरो र रुघा खोकी ।

कोरोना संक्रमितको उपचारमा खटिएका डा न्यौपाने कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि घरमै आरमा गरेर बसे ।

छोरो अस्पताल नगएपछि बुवा लक्ष्मण न्यौपानेले कारणबारे सोधिखोजी गरे । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि बुवाले डाक्टर छोरोको उपचार गर्न थाले ।

उनले घरायसी अर्थात् परम्परागत औषधि बनाए । एक जना साथीले उपलव्ध गराएको गुर्जोलाई बेसार, पानी, दालचिनी, अदुवा, सुट्ठो, जिरा लगायतसँग पकाएर उनले छोरालाई खुवाए । दिनमा केही पटक त्यस्तो पानी खुवाएपछि छोरालाई ठिक भएको उनको भनाइ छ ।

‘कोरोना संक्रमितको उपचारमा खटिएको छोरोलाई त्यससँग मिल्दो जुल्दो लक्षण देखिएपछि गुर्जो र अन्य घरायसी औषधिहरु पकाएर खुवाएँ,’ न्यौपानले भने, ‘बेलुकादेखिनै उसलाई सहज भयो । भोलिपल्ट त उ डिउटीका लागि अस्पताल गयो ।‘

००००००

काभ्रे जिल्ला समन्वय समितिका संयोजकसमेत रहेका भैसेपाटीका उद्धव केसीको परिवारमा एकैपटक सात जना कोरोना संक्रमित बने ।

परिवारका सबै सदस्यमा संक्रमण देखिएपछि केसी परिवारले परम्परागत औषधिमा जोड दियो । गुर्जो लगायतका आयुर्वेदिक जडिबुटी सेवनमा जोड दिएका सात जना मध्ये ६ जनाको दोस्रो पटकको परीक्षणमा कोरोना नेगेटिभ आयो ।

००००००

माथिका दुबै परिवारलाई गुर्जो उपलव्ध गराउने व्यक्ति हुन् मुक्ति विष्ट ।

काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका १० जनागालका विष्टलाई यतिबेला गुर्जो वितरण गर्न भ्याइनभ्याइ छ ।

विष्टले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत देशका प्रमुखहरुलाई गुर्जो उपलव्ध गराएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा विष्टले ४० किलो गुर्जो उपलव्ध गराए । राष्ट्रपति र त्यहाँ कार्यरत कर्मचारी, सेना प्रहरीका लागि गुर्जो उपलव्ध गराएको विष्टले बताए ।

गुर्जोको लहरासँगै उनले शितलनिवासमा रोप्नका लागि चारवटा विरुवासमेत उपलव्ध गराएका छन् ।

‘राष्ट्रपति कार्यालयमा ४० किलो गुर्जो उपलव्ध गराएका छौं’ विष्टले भने,यति महत्वपूर्ण र आयुर्वेदमा सबैभन्दा उपयोगी भनि व्यख्या गरिएको औषधि राष्ट्रपति कार्यालयमा पनि लगाउँदा उपयुक्त हुन्छ भनेर ४ वटा विरुवा पनि उपलव्ध गराएका छौं ।’

गुर्जोको लहरा र विरुवा लिनका लागि राष्ट्रपति कार्यालयबाट सचिबालयका व्यक्ति काभ्रेको जनागाल पुगेका थिए ।

प्रधानमन्त्रीको भागमा १५ किलो

विष्टले प्रधानमन्त्री र उनको सचिवालयका लागि पनि गुर्जो उपलव्ध गराएका छन् ।

सोमबार उनले प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र उनको सचिवालयलाई १५ किलो गुर्जो उपलव्ध गराए ।

प्रधानमन्त्री निवासमा पनि गुर्जोको विरुवा रोप्नु पर्ने उनको भनाइ छ ।

कोरोना संकमणपछि होटल सोल्टीको आइसोलेसनमा रहेका वायुसेवा निगमका क्याप्टेन विजय लामालाई पनि विष्टले होटल पुगेर गुर्जो उपलब्ध गराएका छन् ।

आइसोलेसनमा रहेका कारण क्याप्टेन लामासँग भेट नभएपनि उनीसँग फोनमा कुराकानी भएको उनले बताए ।

गुर्जो पाएसँगै क्याप्टेन लामाले विष्टलाई धन्यवाद दिएका थिए । आफूले पनि गुर्जोको खोजी गरिरहेको बताउँदै लामाले आइसोलेसनमा आएर गुर्जो उपलव्ध गराएकोमा धन्यवाद दिएको विष्टले बताए ।

सिंहदरबारमा पनि विरुवा रोप्ने योजना

देशको मुख्य प्रसाशनिक निकाय सिंहदरबार भित्र पनि गुर्जोको विरुवा रोप्ने योजना विष्टले बनाएका छन् ।

गुर्जो रोप्नका लागि धेरै स्थान आवश्यक पनि नभएको र अन्य रुखहरुमा समेत लहरा जाने भएका कारण सिंहदरबार भित्र १० वटा गुर्जोको विरुवा रोप्ने योजना बनाएको उनले बताए ।

‘सिंहदरबार भित्रपनि गुर्जोको विरुवा रोप्ने विषयमा कुराकानी भएको छ’विष्टले भने,‘सामान्यदेखि यस्ता संक्रामक र सरुवा रोगमा समेत रामबाण रहेको गुर्जो रोप्ने कुरामा सबैले सहयोग गर्छौं भन्ने बचन दिनु भएको छ ।’

००००००

केही सुपरमार्केट र केही पसलमा गुर्जोको बिक्री वितरण भइरहेको छ । भाटभटिनी लगायका स्थानमा प्रतिकिलो १५ सय रुपैयाँ भन्दा महँगोमा गुर्जोको विक्री वितरण भइरहेको छ ।

तर, विष्टले भने आवश्यक पर्ने व्यक्तिका लागि निःशुल्क रुपमा गुर्जो उपलव्ध गराउँदै आएका छन् । विष्टका अनुसार उनले अहिलेसम्म पाँच हजार भन्दा धेरै किलो गुर्जो उपलव्ध गराइसकेका छन् ।

‘यसबीचमा हामीले विभिन्न व्यक्ति, समूह, आइसोलेसन, सेना, प्रहरी गरेर पाँच हजार भन्दा धेरै किलो गुर्जो वितरण गरेका छौं’ विष्टले भने ।

कसरी बन्यो योजना ?

चैत ११ गतेदेखि सरकारले लकडाउन गरेसँगै विष्ट पनि धेरै दिन घरभित्रै बसे ।

कोरोना महामारीको डरका कारण घरभित्रै बसेका विष्टलाई रोगप्रतिरोधी क्षमता बढाउन गुर्जो सहयोगी हुन्छ भन्ने कुरा थाहा भएपछि आवश्यक पर्ने व्यक्तिका लागि गाउँठाउँमा भएको गुर्जो उपलव्ध गराउने सोच आयो ।

गुर्जो वितरण शुरु गर्नु अघि विष्टले बेसार, अदुवा, लसुन, दालचिनी लगायत परम्परागत मसला सेना र प्रहरीका क्याम्पमा समेत पुराइदिएका थिए ।

रोगप्रतिरोधी क्षमता बढाउनका लागि परम्परागत रुपमा प्रयोग गरिँदै आएको बेसार पानी र अन्य मसला गरेर करिब ४० किलो उनले आफ्नै खर्चमा विभिन्न स्थानमा लगेका थिए ।

त्यसपछि उनी गुर्जोमा केन्द्रीत भए ।

‘लकडाउनको सुरुवाती दिनमा डरले घरभित्रै बसें तर यसरी भन्दा पनि अफ्ट्यारोमा परेकाहरुको सेवा गर्नुपर्छ भनेर बाहिर निस्किएँ’, उनले भने,‘त्यसपछि गाउँबाट गुर्जोहरु संकलन गरेर संक्रमितहरुलाई वितरण गर्न थालेँ ।’

राजनीति र सामाजिक काममा सक्रिय रहेका विष्टलाई गुर्जो संकलनमा चिनेजानेकाले सहयोग गरे ।

मार्सल आर्टका राष्ट्रिय खेलाडी एवं एसियन च्याम्पियन समेत रहेका उनी नेकपाका जिल्ला कमिटी सदस्य पनि हुन् । उनले आफ्नो राजनीतिक सम्पर्कलाई गुर्जो संकलनमा प्रयोग गरे । चिने जानेका साथीहरुमार्फत गाउँ गाउँमा पुगेर उनले वनबाट गुर्जो संकलन गरे ।

‘हामीले किसानाके बारी, पर्ति जग्गा र सामुदायिक वनमा गएर गुर्जो संकलन गर्ने गरेका छौं । त्यसका लागि टिम परिचालन गरिएको छ धेरै स्थानमा म आफैं जाने गरेको छु’उनले भने,‘तर अहिले विक्री वितरण हुन थालेपछि भने केही असहज भएको छ ।’

आइसोलेनमा माग

गुर्जोको सबैभन्दा बढी माग आइसोलेसन केन्द्रमा भएको विष्ट बताउँछन् । देशका विभिन्न स्थानमा रहेका र विशेषगरि सहरी क्षेत्रमा रहेका आइसोलेसन केन्द्रबाट गुर्जोको माग भएको बताउँदै उनले माग भएका स्थानमा आफैं पुराउन जाने गरेको बताए ।

काभ्रे, भक्तपुर र काठमाडौंका विभिन्न स्थानमा रहेका आइसोलेसन, सेना, प्रहरी लगायतले गुर्जो मगाउने गरेको उनले बताए ।

५० हजार विरुवा उत्पादन गर्ने लक्ष्य

विष्टसहितको टिमले गुर्जोको विरुवा उत्पादन गर्ने विषयमा विभिन्न नर्सरीहरुसँग पनि कुराकानी गरिरहेको छ ।

त्यसका लागि डावर नेपालसँग पनि छलफल जारी रहेको छ ।

सकेसम्म गुर्जोको विउ र नभए कम्तिमा ५० हजार विरुवा उत्पादन गर्ने लक्ष्य लिइएको विष्टले बताए ।

सेवनका लागि गुर्जोको जरादेखि डाठ पातसम्म उपयोगी भएको भन्दै उनले विरुवाको लागि लहराको बीच भाग आवश्यक हुने बताए ।

जडिबुटीको वेवास्ता

नेपालमा र विश्वमा नै पछिल्लो समय विभिन्न औषधिहरुको प्रयोग विभिन्न उपचारमा हुने गरेको छ । सामान्य समस्यामा पनि मानिसहरु मेडिकलबाट औषधि किनेर खाने गर्छन् तर घरमा नै हुने मर मसला र वन जंगलमा पाइने जडिबुटी खाने तर्फ मानिसले वेवास्ता गरेको उनी बताउँछन् ।

आयुर्वेदका क्षेत्रमा सक्रिय रहेका विज्ञ र प्राचिनसमय देखि यसको प्रयोगले हुने फाइदालाई हेरेर आफूहरुले जडिबुटी वितरणमा जोड दिएको उनी बताउँछन् ।

गुर्जोको सेवनबाट विज्ञले गरेको दाबी अनुसार डेंगु, क्यान्सर, पायल्स र शारिरीक दुर्बलतामा फाइदा पुग्छ ।

सुगर र प्रेसरको लागि गुर्जो रामवाण नै भएको अनुभव यसको प्रयोग गर्नेहरुले आफूलाई सुनाएको विष्ट बताउँछन् ।

रामायणमा समेत वाण लागेर वेहोस बनेका लक्ष्मणलाई विउताउन हनुमान सञ्जिवनी बुटी खोज्न गएको र त्यसलाई नचिनेपछि पहाडै बोकेर ल्याएको प्रसंग रहेको भन्दै विष्टले उक्त सञ्जिवनी बुटी अरु केही नभएर गुर्जो नै भएको हुनसक्ने बताइने गरेको उनी बताउन् ।

त्यसैले गुर्जोलाई सामान्य लहरामात्र नभएर जीवन बुटीको रुपमा लिनुपर्ने उनी बताउँछन् ।

अनुसन्धान हुन सकेको छैन

सरकारी स्वामित्वका आयुर्वेदिक अध्ययन र प्रशोधन केन्द्रहरु रहेपनि त्यहाँ पर्याप्त मात्रामा खोज अध्ययन अनुसन्धान हुन नसकेकोमा उनी दुःखी छन् ।

सिंहदरबार वैद्यखाना, जडिबुटी प्रसोधन केन्द्र, नरदेवी लगायतमा राज्यले लगानी गरेको भएपनि ति क्षेत्रले आफूले प्राप्त गरेको विज्ञता अनुरुपको काम गर्न नसकेको उनी बताउँछन् ।

‘विश्वमा आउने जतिपनि महामारी छन् त्यस्ता आयुर्वेदिक औषधिहरु नेपालमा उत्पादन हुन्छन्,’उनी भन्छन् ‘तर यस्ता कुराहरुको अध्ययन अनुसन्धान पर्यापत मात्रामा नभएको देखिएको छ, यसमा सुधार गर्नुपर्छ ।’

कोरोना संक्रमितहरुको उपचार गरिरहेको आयुर्वेदिक केन्द्रहरुले जडिबुटी र गुर्जो लगायतको सेवनबाट आइसोलेसनमा रहेका व्यक्तिहरुलाई चाँडो निको भएको समाचारहरु बाहिरिएको भएपनि त्यसमा पर्याप्त अध्ययन अनुसन्धान हुन सकेको छैन ।

कोरोना महामारी नियन्त्रणका लागि औषधि र खोप बनाउन विश्वका कयौं देशले प्रयास गरिरहेको भएपनि सफलता पाउन नसकेको बेलामा नेपालले प्राकृतिक जडिबुटीको प्रयोगबाट भएको लाभलाई वैज्ञानिक रुपमा पुष्टि गरेर प्रचार गर्न सकेको खण्डले देशले ठूलो फाइदा लिन सक्ने उनी बताउँछन् ।

‘गुर्जोको सेवनपछि आधा विरामी ठिक भयौं भन्छन्, राज्यले अनुसन्धान गर्नुपर्छ’ विष्ट भन्छन् ।

के हो गुर्जो ?

गुर्जाे समुद्री सतहको ३०० मिटर देखि १८०० मिटरको उचाइमा विभिन्न भौगोलिक क्षेत्रमा पाइन्छ । यो लहरा प्रजातिको वनस्पति हो । तराई तथा चुरे क्षेत्रमा पाइने गुर्जाेको पात पानको जस्तै हुन्छ । यसको डाँठ फुस्रो हुन्छ ।

महाभारत पर्वत शंखलामा पाइने गुर्जाेको कालो डाँठ हुन्छ। उच्च हिमाली भूभागको सेपिलो भागमा पाइने गाने गुर्जाे औषधीय उपयोगका हिसाबले उत्तम मानिन्छ ।

संस्कृतमा गुडुची वा अमृता भनिने गुर्जोको बोटानिकल नाम टिनोपोरा कोर्डिफोलिया हो।

गुर्जाेको पातमा क्याल्सियम प्रोटिन फस्फोरस प्रचुर मात्रामा पाइन्छ । यो कमलिपत्तको प्रभावकारी औषधि रहेको आयुर्वेदमा उल्लखे गरिएको छ ।

गुर्जाेको डाँठमा स्टार्च सँगसँगै यसमा एन्टिबायोटिक र एन्टिब्याक्टेरियल गुण प्रशस्त पाइन्छ । रगतको शुद्धता र वृद्धि, हृदयाघातको जोखिम न्यूनीकरण, मधुमेह नियन्त्रण र छालामा चमक, अनुहारमा कान्ति वृद्धिकाका लागि गुर्जो उत्तम मानिन्छ।

कसरी गर्ने सेवन ?

गुर्जोको डाँठ सफा गरेर हल्का कुटेर पानीमा रातभरि भिजाई भोलिपल्ट खाली पेटमा नियमित ३ महिनासम्म सेवन गर्नाले पेटमा रोग नलाग्ने आयुर्वेदमा उल्लेख गरिएको छ ।

लहरालाई ५–७ सेमी लामा हुनेगरी काट्ने र साना साना टुक्रालाई फेरि चार फ्याक गरेर काटेर सुकाउने । यसरी सकाइएको टुक्रालाई मुग्रोले थिचेर पनि राखिन्छ । एक हप्ता जति घाममा राम्ररी सुकाएपछि प्रयोग गर्न मिल्छ । यसको भण्डारण गरेरपछि पनि प्रयोग गर्न मिल्छ ।

यसरी सुकाएर धुलो बनाई खाली पेटमा एक चम्चा एक गिलास पानीसँग मिसाएर खान सकिन्छ । त्यस्तै सानो सानो टुक्रा बनाइ पानीमा केही बेर उमालेर पनि यसको सेवन गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्