बलिउडका कारण नयाँदिल्ली बलात्कारको राजधानी बन्यो : इमरान

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १ : ५३


इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतको राजधानी नयाँ दिल्ली विश्वमै बलात्कारको राजधानी बनेको र बलिउड फिल्महरूको अश्‍लीलताका कारण यस्तो भएको आरोप लगाएका छन।

सोमबार पाकिस्तानी एक स्थानीय च्यानललाई दिएको अन्तर्वार्तामा पाकिस्तानी प्रधानमन्त्री खानलाई कराँचीको राजमार्गमा भएको सामूहिक बलात्कारको घटना बारे प्रश्न सोधिएको थियो।

उक्त सामूहिक बलात्कारको घटनालाई लिएर पाकिस्तानमा अहिले विरोध प्रदर्शन र सरकारको आलोचना भइरहेको छ।

इमरान खानले भने बलत्कारका घटनामा बलिउड फिल्म जिम्मेवार रहेको बताएका छन्।

फिल्मको असर समाजमा पर्ने र मानिस त्यही व्यवहार गर्न थाल्ने खानको बुझाई छ।

खानले अन्तर्वार्तामा भनेका छन्,’बलिउड फिल्महरू ४० बर्ष अगाडी जस्तो बनाइन्थ्यो, अहिले त्यस्तो छैन र यसले समाजलाई पनि प्रभावित गरेको छ। बलिउडका फिल्महरू अश्‍लीलताले भरिएका छन् र यसको प्रभाव देख्न सकिन्छ। दिल्ली विश्वमै बलात्कारको राजधानी बन्न पुगेको छ।’

समाजमा अधार्मिक गतिविधी बढ्दा यौन अपराध बढ्न जाने खानको बुझाई छ। जुन समाजका लागि घातक बन्दै जान्छ। सबैले आफ्नो संस्कृति र नैतिकता सिकाउनमा जोड दिनु पर्ने उनले बताए।

कानुनले मात्रै यौन अपराध रोक्न नसक्ने भन्दै मानिस स्वयंम नैतिकवान र जिम्मेवार बन्नुपर्ने इमरानले बताए।

बलात्कारकरीहरुलाई सार्वजनिक स्थलमा लगेर झुण्ड्याउँनु पर्ने समेत इमरानले बताए।

उनले भने, ‘मैले बलात्कारीलाई झुण्ड्याउँनु पर्ने सजाय हुनुपर्ने माग गरेको छु। यद्यपि मानिसहरूले यो अन्तर्राष्ट्रिय रुपमा स्वीकार्य नहुने बताएका छन्। तर, म बलात्कारीलाई त्यस्तो शल्यक्रिया गरेको हेर्न चाहन्छु। जसपश्चात तिनीहरू कुनै यौन अपराध गर्न सक्षम हुने छैनन्।’


प्रतिक्रिया दिनुहोस्